ओलीभन्दा अघि कसैले पनि भारतमा यत्रो स्थान पाएका थिएनन्

भारतीय कटर हिन्दू राष्ट्रवादी पार्टी शिव सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको झापा आन्दोलनको इतिहास, लामो जेल जीवनदेखि पछिल्लो भारतविरोधी कदमसम्मको चर्चा गरेको छ।

शिव सेनाको मुखपत्र ‘सामना’ पत्रिकामा प्रधानमन्त्री ओली सन् १९९१, १९९४ र १९९९ सांसद बनेको उल्लेख गरिएको छ। ओलीले सन् १९६६ बाट राजनीतिक यात्राको आरम्भ गरेको सामना सम्पादक अनिल तिवारीले आफ्नो स्तम्भमा लेखेका छन्।

झापा आन्दोलनकै क्रममा लामो समय जेल जीवन बिताएपछि खुल्ला राजनीतिमा आएको समेत स्तम्भमा उल्लेख गरेका छन्।

सामना पत्रिका लेख्छ, ‘पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारमा ओली गृहमन्त्री बनेपछि एकाएक नेपाली राजनीतिको चर्चामा आए। उनी विस्तारै राजनीतिक भविष्य बनाउँदै अघि बढे। केही वर्षअघिसम्म समेत ओली र भारतको सम्बन्ध राम्रो थियो। देश गणतन्त्रमा प्रवेश गरेसँगै प्रधानमन्त्री ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा चिनियाँ हस्तक्षेप बढाउने काम गरे। झापा आन्दोलनमा महत्वपूर्ण भूमिका निभाए पनि राजतन्त्र हटाउने सन्दर्भमा ओलीको भूमिका कम छ। पहिलो कार्यकालमा प्रधानमन्त्री बनेपछि ओली चीन पुगे र कयौं व्यापारिक तथा नीतिगत सम्झौता गरे। नेपाल भारतबाट विस्तारै टाढा हुने पहिलो आधिकारिक सुरूवात यहीँलाई मान्न सकिन्छ। ओली–प्रचण्डको भारतबिरोधी गतिविधि र राष्ट्रवादी मुद्दाले सन् २०१८ को चुनावमा ठूलो जीतसमेत हाशिल भयो।’

पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री ओली धेरै नै छाएको पत्रिकाले लेखेको छ। यसभन्दा पहिले नेपालका कुनै पनि प्रधानमन्त्रीले यस तरिकाबाट स्थान नपाएको उसको दाबी छ।

सामानामा प्रकाशित हुने प्रायः सम्पादकीय वा स्तम्भमा ओलीले भारतीय मिडियामा नेपाल-भारत सम्बन्ध बिगारेर चर्चा बटुलेको र स्वार्थको पछि हिड्ने नेताका रुपमा विश्लेषण गरिएको छ।

सामनाले अगाडि लेख्छ, ‘प्रचण्ड पनि चीन निकट नै हुन्। तर, सन् २०१६ मा दोस्रो कार्यकाल प्रधानमन्त्री भएपछि उनले चीनको अपेक्षा अनुसार काम गर्न सकेनन्। प्रचण्डले चीनको स्वार्थ पुरा गर्न नसकेपछि ओली चिनियाँ आँखामा परे। ओली सुरुवाती चरणमा भारत निकट हुन्। सन् १९९६ मा भारत र नेपालको ऐतिहासिक महाकाली सम्झौतामा ओलीको भूमिका महत्वपूर्ण मानिन्छ। महाकाली सम्झौताको वरिपरी भारतसँग ओलीको राम्रो सम्बन्ध थियो। जब प्रचण्ड भूमिगत अवस्थामा थिए, त्यस समयमा चीनले उनैलाई रुचाउँथ्यो। तर, ओलीको चतुर राजनीतिका अघि प्रचण्डको केहीँ लागेन।’

सामनाले प्रचण्डको राजनीति पतन, ओली–भारतको विगत सम्बन्ध, पछिल्लो चिनियाँ स्वार्थ र ओलीको भारतबिरोधी भावनालगायत विषयमा चर्चा गरेको छ।

महाराष्ट्रमा राम्रो राजनीतिक प्रभाव भएको शिव सेना पार्टीको मुखपत्र सामनाले प्रायः साप्ताहिक रूपमा नेपाली राजनीति र कम्युनिष्ट स्वार्थका बारेमा सम्पादकीय, आलेख र समाचार लेखिरहेको हुन्छ।

प्रकाशित मिति: : 2020-08-02 22:39:50

प्रतिकृया दिनुहोस्