कोरोना संक्रमण बढ्न थालेपछि प्रधानमन्त्रीले आज विज्ञहरुसँग छलफल गर्दै

काठमाडौ उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग छलफल गर्ने भएका छन्।

 बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् । आवश्यक सतर्कता नअपनाएर लकडाउन खोलेको भन्दै सरकारको आलोचनासमेत भईरहेको छ ।

प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।

११ चैतबाट लागू गरिएको लकडाउन ७ साउनबाट हटाइएको थियो। लकडाउन हटाइएसँगै छोटो दूरीको सार्वजनिक सवारीसाधान, होटल/व्यवसाय खुला गरिएको थियो। संक्रमणको जोखिम रहिरहँदा सर्वसाधारणमा लापरवाही बढेको टिप्पणी हुन थालेको छ। सार्वजनिक स्थलहरूमा भीडभाड बढेको छ। 

अझ १ भदौबाट लामो दूरीका सवारीसाधन र हवाई सेवा सञ्‍चालन गर्ने सरकारको तयारी छ। तर, नयाँ संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि पुन: लकडाउन गर्नुपर्ने आवाजहरू पनि उठ्न थालेको छ। 

नेपालमा अहिलेसम्म २० हजार ७५० जना संक्रमित फेला परेका छन्। तीमध्ये १४ हजार ९६१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हालसम्म कोभिड-१९ बाट ५७ जनाको मृत्यु भइसकेको छ। 

लकडाउन खुलेपछि सबैभन्दा बढी हिजो एकैदिन थप ४१८ जनामा कोभिड-१९ पोजिटिभ पुष्‍टि भएको थियो।

पछिल्लो समय प्रदेश १ को विराटनगर, प्रदेश २ का वीरगंज, धनुषालगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

प्रकाशित मिति: : 2020-08-04 08:36:31

प्रतिकृया दिनुहोस्