सतर्क भएर घरमै गाइजात्रा मनाउन मेयर शाक्यको आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत सांस्कृतिक पर्व गाइजात्रालाई विधि पुर्‍याएर घर-घरमै मनाउन आग्रह गरेका छन् ।

यो पर्व १ वर्षभित्र देहावसान आफन्तको सम्झना र दुःख विर्साउन धुमधामसँग मनाउने चलन भए पनि यस्तो विषम परिस्थितिमा भीडभाड नगरी मनाउन उनले आग्रह गरेका हुन् ।

‘यो जात्रा आफूलाई मन पराउने वा आफूले मन पराउने देहावसान आफन्तको पीडा बिर्साउने परम्पराका रूपमा मनाउने चलन छ,’ शाक्यले भने, ‘मेरो घरमा मात्रै होइन हरेकका घरमा कोही न कोही देहावसान भएका छन् भनेर देखाइ पीडा कम गर्ने वा दुःख बाँड्ने परम्पराका रुपमा समेत यो जात्रालाई मान्ने गरिएको छ ।’ 

प्रमुख शाक्यले यस्तो जात्रा विगतका वर्षमा धुमधामसँग मनाउने गरेको स्मरण गराउँदै भने, ‘कोरानाको कहरले भयावह भएको यस्तो अवस्थामा २५/३० हजार मानिस एकै पटक सडकमा आउँदा नसोचेको संक्रमण फैलिन सक्छ । त्यसैले देहावसान भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाइजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ-आफ्नो घरमा मात्रै मनाउन अपिल गर्दछु ।’ 

उनले यस्तो बेलामा आस्था, विश्वास र परम्परालाई कायम राख्दै  जात्रा मान्न र जोखिमबाट बच्न पनि आग्रह गरे । ‘आफूलाई माया गर्ने र आफूले माया गर्ने व्यक्ति वितेकोमा सबैलाई पीडा अवश्य हुन्छ । तर, यस्तो बेलामा भीडभाडका साथ मनाउँदा जोखिम बढ्न सक्छ,’ उनले भने, ‘यस बारेमा पनि सचेत रहनुहोला ।’ 

यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने चलन छ । यो पर्व आज देशभर सुरु हुँदैछ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई पीडा भुलाउन यो पर्वको थालनी गरेको भन्ने परम्परा छ ।  

प्रताप मल्लले रानीलाई दुनियाँले यस्तै पीडा भोग्नुपर्छ भन्ने देखाउन जनतालाई वर्षभरीमा आ-आफ्नो घरका देहावसान भएका मानिसको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक कथन छ ।

प्रकाशित मिति: : 2020-08-04 09:48:19

प्रतिकृया दिनुहोस्