ज्योति विकास बैंक छाडेका मनोज ज्ञवाली नबिल बैंकमा

नबिल बैंकका नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा मनोज ज्ञवाली नियुक्त भएका छन्। ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट साढे तीन महिना अघि राजीनामा दिएका बैंकर ज्ञवालीलाई नबिलमा चिफ फाइनान्स अफिसर (सीएफओ) को जिम्मा दिइएको बैंक संचालक समतिका अध्यक्ष शम्भु पौडेलले जानकारी दिए। उनले आजैबाट आफ्नो  कार्यभार सम्हाल्दैछन्।

ज्ञवालीले ज्योति विकास बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका थिए। ज्योतिबाट बाहिरिएको करिब साढे तीन महिनाको अन्तरालपछि उनी नबिल पुगेका हुन्। ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ।

नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन (सीए) समेत हुन्। ज्योति विकास बैंकअघि ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटलमा समेत काम गरेका थिए। उनी डेभलपमेन्ट बैंक एशोसिएसनका निवर्तमान महासचिव समेत हुन्। ज्ञवाली ज्योति विकासबाट बाहिरिएपछि विकास बैंक एशोसिएसनमा प्रमुख सल्लाहकारको रुपमा रहेका थिए। 

प्रकाशित मिति: : 2020-08-05 12:27:16

प्रतिकृया दिनुहोस्