सुशान्त मुद्दाको छानबिन गर्न मुम्बई पुगेको बिहार प्रहरी पटना फर्कियो

एजेन्सी

मुम्बई

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा छानवीनका लागि मुम्बई पुगेको बिहार प्रहरीका ४ अधिकारी बुधबार पटना फर्किएका छन्। उनीहरूले विमानस्थलमा भने, ‘मुम्बईमा काम गर्न निकै गाह्रो भयो।’ 

उनीहरूले सिनियर अधिकारीले केही सहयोग गरेको जानकारी पनि दिए। सुशान्त मुद्धा अब सीबीआईले हेर्दै छ। बुधबार सर्वोच्च अदालतले सुशान्तको मुद्धामा मुम्बई प्रहरीले राम्रो छानवीन नगरेको भन्दै सीबीआईलाई काम सुम्पिन आदेश दिएको छ। 

सुशान्तका बुवाले छोराको आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले राम्रोसँग छानवीन नगरेको भन्दै बिहारमा मुद्धा दर्ता गराएका थिए। यसपछि बिहार प्रहरी छानवीनका लागि मुम्बई आएको थियो। मुम्बईमा छानवीनका लागि आएका आइपीएस अधिकारीलाई विमानस्थलबाटै क्वारेन्टाइनमा पठाउने मुम्बई सरकारको निर्णयप्रति पनि अदालतले असन्तुष्टी जाहेर गरेको छ। 

मुम्बईबाट बिहार फर्किएका प्रहरी अधिकारीले राम्रोसँग छानवीन गर्न नपाएपनि आफूले भेटाएको केही जानकारी सीबीआईलाई दिन आतुर रहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-08-06 18:15:33

प्रतिकृया दिनुहोस्