हलिउडमा स्थापित हुन डेन्जलका छोराले झुटो बोले 

एजेन्सी

वासिङ्टन

विश्व चलचित्रको मानक मानिने हलिउडमा एउटा अचम्मको घटना भएको छ। हलिउडमा पनि नातावाद र परिवारवादको कुनै कमि छैन। तर, दसकौंदेखि चलिरहेको यो अभियानलाई एक स्टार ‘किट्स’ ले परिवर्तन गरिदिएका छन्। 

उनको नाम हो, जोन डेभिड वासिङ्टन। जोन हलिउड स्टार तथा अस्कार अवार्डबाट सम्मानित डेन्जल वासिङ्टनका छोरा हुन्। 

उनले हलिउडमा स्थापित हुन आफ्नो बुवाको परिचय लुकाएका थिए। जोनले हालै दिएको एउटा अन्तर्वार्तामा हलिउडमा काम गर्न आफूले बुवा निर्माण मजदुर भएको र हाल जेलमा रहेको जानकारी दिएको बताए। 

‘फिल्ममा अभिनय गर्न मैले झुटो बोले। म आफ्नो बुवा निर्माण मजदुर भएको र हाल जेलमा रहेको बताउँथे,’ उनले भने। ३६ वर्षीय यी स्टारले मानिसहरूलाई आफ्नो परिचय थाहा नुहँदासम्म आफूले स्वभाविक जीवन बिताएको र धेरैले आफ्नो काम रूचाएको पनि बताए। ‘तर, पछि परिचय खुल्यो। यसपछि मैले जति नै राम्रो गर्दा पनि मानिसहरूले गम्भीरतापूर्वक लिएनन्,’ उनले बताए।  

उनले आफू डेन्जलको छोरा भएको सार्वजनिक भएपछि मानिसहरूले बुवासँग तुलना गर्न थालेकोमा दुःख व्यक्त गरे। जोनले केही टेलिभिजन र फिल्ममा उत्कृष्ट काम गरेका छन्। उनी सन् २०१९ मा ‘ब्ल्याकल्यासम्यान’ का लागि गोल्डेन ग्लोब्सको मनोनयनमा परेका थिए। जुन फिल्म चार पल्ट डेन्जललाई निर्देशन गरिसकेका स्पाइक लीले बनाएका थिए। 

जोन पहिले अमेरिकी फुटबलका व्यवसायिक खेलाडी थिए। कुर्कुच्चामा गम्भीर चोट लागेपछि उनी फुटबल करिअर परित्याग गर्दै अभिनयमा प्रवेश गरेका थिए।  

उनको अघिल्लो फिल्म ‘टेनेट’ रिलिजको तयारीमा छ। क्रिस्टोफर नोलानको ठूलो बजेटको यो फिल्ममा जोनको भूमिका महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: : 2020-08-07 13:01:03

प्रतिकृया दिनुहोस्