बेलको विषयमा जिदानको स्पष्टीकरणः उनले आफै नाम फिर्ता गरेका हुन्

एजेन्सी

म्याड्रिड

च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरूद्ध हुने खेलमा ग्यारेथ बेल रियल म्याड्रिडको टिममा सहभागी हुने छैनन्। बेलले इतिहाद रंगशालामा आयोजना हुने खेलबाट आफ्नो नाम फिर्ता लिएको प्रशिक्षक जिनेदिन जिदानले बताएका छन्। 

उनले बुधबार २४ सदस्यीय म्याड्रिड टिमको घोषणा गर्दै बेलायत भ्रमणमा निस्किने टिममा कप्तान सर्जियो रामोसलाई समावेश गरिएको बताए। यद्यपि रामोस दोस्रो लेगको खेलमा प्रतिबन्धमा छन्। 

वेल्स स्टार बेलले दुई सिजनअघि इंग्ल्याण्डकै लिभरपुलविरूद्ध च्याम्पियन्स लिगको फाइनलमा ३–१ ले विजयी खेलमा २ गोल गरेका थिए। शुक्रबार हुने खेलअन्तर्गत पहिलो लेगमा म्याड्रिड पहिले नै २–१ ले पछाडि छ। 

बेललाई यो सिजनमा म्याड्रिडले राम्रोसँग प्रयोग गरेको छैन। उनी फेब्रुअरी यता एक पल्ट मात्र मैदानमा उत्रिएका छन्। जिदानले सिटीविरूद्ध नउत्रिने निर्णय ३१ वर्षीय स्ट्राइकर स्वयमको भएको स्पष्टीकरण दिए। 

‘अगाडि नै धेरै कुरा भनिएको छ। पछि विस्तारमा चर्चा गरौंला,’ जिदानले पत्रकारहरूसँग भने, ‘खेलाडी र प्रशिक्षकबीच कुनै समस्या छैन। उनले नै खेल्न नचाहेका हुन्। अन्य कुरा उनी र म बीचको हो।’

बेलको अनुबन्ध सन् २०२२ सम्म छ। यस्तो अवस्थामा बेलको बारेमा कुरा गर्दा जिदान निरास देखिन्थे।

प्रकाशित मिति: : 2020-08-07 14:38:04

प्रतिकृया दिनुहोस्