एसियाली शेयर बजारमा सामान्य गिरावट

एजेन्सी

टोकियो

अधिकाँश एसियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ। 

संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर परेको हो।

लगानीकर्ताहरु शुक्रबार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतिक्षा गरिरहेका छन्। यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ। 

अमेरिकी शेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । अमेरिकी संसद र ह्वाइट हाउसले अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन थप आर्थिक सहायता उपलब्ध गराउने गरी एक सम्झौतामाथि छलफल भइरहेको छ। 

एसियाली शेयर बजारमा भने कोरोनाभाइरसको संक्रमण बढेसँगै थप असर परेको देखिएको छ। खासगरी दक्षिणपूर्वी एसियाली मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको हो।

सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर शुरु हुने खतरा रहेको बताइन्। उनले चीन–अमेरिका व्यापार तनाबले समस्या अरु बढाएको बताइन्। 

जापानको शेयर बजार निक्की ०।६ प्रतिशतले घटेर २२ हजार २७३ विन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एसएन्डपी ०।७ प्रतिशतले घटेको छ। दक्षिण कोरियाको कोस्पी ०।२ प्रतिशत, हङकङको हाङसेङ १।८ प्रतिशत तथा चीनको साङ्घाई कम्पोजिट १।२ प्रतिशतले घटेका छन्।

टोयोटा मोटर कर्पको शेयर भने बिहानीपख २ प्रतिशतले बढेको छ भने निन्टेन्डो कम्पनीको शेयर पनि २।३ प्रतिशतले सुधार भएको छ। जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै शेयर मूल्य बढेको हो।

गएराति अमेरिकी डाउजोन्स पनि ०।७ प्रतिशतले वृद्धि भइए २७ हजार ३८७ विन्दुमा पुगेको थियो। नास्डाग कम्पोजिटमा पनि १ प्रतिशतले सुधार भई ११ हजार १०८ विन्दुमा अडिएको थियो।

अमेरिकामै गत साता करिब १२ लाख कामदारले बेरोजगारी भत्ताका लागि आवेदन दिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ। अघिल्लो हप्ताको तुलनामा यो संख्यामा सामान्य कमी आएको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी अर्थशास्त्रीहरुले सोचेझैं यो त्यति खराब अवस्था नरहेको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-08-07 17:06:28

प्रतिकृया दिनुहोस्