केरलामा विमान दुर्घटना: दुई पाइलटसहित मर्नेकाे १७ पुग्याे, १७३ जना सकुशल

भारत केरलाको कोझिकोड विमानस्थलमा भएकाे एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ। जसमा दुई पाइलट पनि रहेका छन्।

विमानस्थल स्राेतका अनुसार चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएका छन्।

विमानस्थल अधिकारीहरुका अनुसार दुबईबाट करीपुर एयरपोर्ट आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको फ्लाइट नम्बर आईएक्स १३४४ विमान रनवेमा ओभरट्याक गर्नेक्रममा दुर्घटना हो। भारी वर्षाका कारण विमान चिप्लिएकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ।

चिप्लिएपछि विमान ध्वस्त भएर करिव ३० फिटकाे खाल्डोमा खसेको बताइएको छ।

विमानको अगाडि भागमा ठूलो क्षति भएको छ। 

विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए। जसमा दुई जना पाइलटगायत ७ जना चालक दलका सदस्य, १३८ पुरुष, ५२ महिला र १० बालबालिका थिए।

भारतको नागरिक उड्डयन मन्त्रालय अनुसार दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई स्थानिय अस्पतालमा भर्ना गराइएकाे छ।

विमानमा धेरै जस्ताे यात्रु रोजगारी तथा घुम्नका लागि दुबई गएर कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका सवार थिए।

एयरलाइन्सका अनुसार यात्रु मध्ये २६ जनाको रोजगारी गुमेको तथा २८ जनाको भिसा अवधि सकिएको थियो। 

यस्तै ५४ जना घुम्न गएर महामारीका कारण उतै फसेकाहरु थिए भने स्वास्थ्य अवस्थाका कारण फर्किएका ६ तथा विवाहका लागि फर्किएका तीनजना सवार थिए।

भारतीय गृहमन्त्री अमित शाहले घटनाले आफूलाई विछिप्त बनाएकाे बताएका छन्। उनले घाइतेहरुकाे उपचारमा कुनै कमि हुन नदिन आदेश दिएका छन्। यस्तै उनले घटनाको विस्तृत छानबिन गर्न आदेश पनि दिएका छन्।

प्रकाशित मिति: : 2020-08-08 06:53:00

प्रतिकृया दिनुहोस्