तत्काल विशेष प्याकेज घाेषणा गर्न केन्द्रीय सरकारसँग मुख्यमन्त्रीकाे माग

प्रदेश २ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ। 

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको टोलीले आइतबार काठडौंस्थित सिंहदरबारमा उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको हुन्। 

छलफलका क्रममा तत्काल वीरगञ्ज नेशनल मेडिकल कलेजमा काेराेना संक्रमितहरुकाे उपचारका लागि ५ सय बेडको आइसोलेसन वार्ड तुरुन्त व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने उपप्रधानमन्त्री पोखरेलले आश्वासन दिए। 

त्यसैगरी, प्रदेश २ अहिलेको अवस्थामा अति प्रभावित भएकोले तत्काल विशेष प्याकेज ल्याउनुपर्ने टोलीले आग्रह गरे। 

मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्त रुपले काम गर्नुपर्ने तथा सीमा क्षेत्रमा थप कडाई गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्ने बताए।

तत्काल ५० हजार भीटीएम रिएजेन्टको उपलब्धता तथा पीसीआर परीक्षणका लागि दुई वटा आर एन ए मेसिन उपलब्ध गराउनेबारे छलफल भएको छ। 

प्रदेशमा चिकित्सकहरुको विशेषज्ञ टोली तत्काल पठाउनुपर्ने तथा सबै निजी अस्पतालहरुमा कम्तिमा २० प्रतिशत आइसोलेसन वेड उपलब्ध गराउन समेत ध्यानाकर्षण गराएको छ। 

त्यसैगरी, नारायणी अस्पताललाई सामान्य अस्पतालको रुपमा राख्ने तथा विरामी भर्ना नगर्ने तथा उपचार नगर्ने नीजि अस्पताललाई कारवाही गर्ने विषयमा समेत सहमति जुटेको छ।

गम्भिर विरामीलाई तत्काल काठमाडौं ल्याउने गरी हेलिकप्टर स्टाण्डबाई राख्न आग्रह गर्दै प्रदेश २ मा कोरोना उपचार सम्बन्धमा कुनै कमी हुन नदिन मुख्यमन्त्री राउतले माग गरेका छन्। 

प्रकाशित मिति: : 2020-08-09 18:54:17

प्रतिकृया दिनुहोस्