स्टोक्स आमाबुवा भेट्न न्युजिल्याण्ड जाने, पाकिस्तानविरूद्ध बाँकीको दुई टेस्ट नखेल्ने

न्युजिल्याण्डमा बसोबास गर्ने आफ्नो आमाबुवा भेट्न जानुपर्ने कारण बेन स्टोक्सले पाकिस्तानविरूद्ध बाँकीको दुई टेस्ट शृंखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्। इंग्ल्याण्डका अलराउण्डर स्टोक्सका आमाबुवा क्राईस्चर्चमा बसोबास गर्छन। 

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले जनाएअनुसार स्टोक्स यसै साता न्युजिल्याण्ड फर्किदै छन्। पाकिस्तानविरूद्ध इंग्ल्याण्डको दोस्रो टेस्ट १३ अगस्ट र तेस्रो २१ अगस्टमा हुनेछ। 

स्टोक्सका बुवा रग्बीको अन्तर्राष्ट्रिय खेलाडी हुन्। उनी गत डिसेम्बरमा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। हाल उनी क्राईस्चर्चमा भएको घरमा आराम गरिरहेका छन्। 

यसै महिना वेष्ट इन्डिजविरूद्ध सम्पन्न तीन टेस्टको शृंखलामा स्टोक्सले सर्वाधिक ३ सय ६३ रन बनाएका थिए। शृंखला इंग्ल्याण्डले २–१ ले जितेको थियो। उनले ९ विकेट पनि लिएका थिए। उनी २०१९ को विश्व कपका नायक हुन्। 

पाकिस्तानविरूद्ध पहिलो टेस्ट ३ विकेटले जितेका इंग्ल्याण्डका लागि स्टोक्सले खासै केही गर्न पाएनन्। उनी पहिलो इनिङमा शुन्य तथा दोस्रोमा ९ रनमा आउट भएका थिए। चोटग्रस्त रहेका स्टोक्सले दोस्रो इनिङमा २ विकेट लिएका थिए। 

वेष्ट इन्डिजविरूद्ध टेस्ट शृंखलामा नियमित कप्तान जो रुट विश्राममा बसेपछि उनको स्थानमा स्टोक्सले टिमको कप्तानी गरेका थिए।

प्रकाशित मिति: : 2020-08-10 10:19:37

प्रतिकृया दिनुहोस्