च्याम्पिन्स लिगको क्वाटर फाइनलअघि एट्लेटिकोका दुई खेलाडी कोरोना संक्रमित

च्याम्पियन्स लिगको क्वाटर फाइनल भन्दा पहिले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई गम्भीर धक्का लागेको छ। क्लबका दुई खेलाडी तीन दिनपछि आरबी लिपजिगविरूद्ध हुने खेलअघि कोरोनाबाट संक्रमित भएका छन्। 

क्लबले सोमबार दुई खेलाडी संक्रमित भएको पुष्टी गरिसकेको छ। क्लबले युरोपेली फुटबल महासंघको नियमअन्तर्गत क्वाटर फाइनलअघि सबै खेलाडीको कोरोना परीक्षण भएको र यसमा दुई खेलाडी पोजिटिभ देखिएको बताएको छ। 

दुबै खेलाडी आ–आफ्नो घरमा ‘सेल्फ आइसोलेसन’ मा बसेको बताइएको छ। क्लबले यस विषयमा पोर्चुगल र स्पेनको स्वास्थ्य विभागलाई जानकारी दिएको बताएको छ।

क्लबले पोजिटिभ भएका खेलाडीको सम्पर्कमा आउने टिमका अन्य सदस्यलाई पीसीआर टेस्ट गराउन लागेको बताएको छ। कोरोनाका कारण पहिलो पल्ट क्वाटर र सेमिफाइनलको एउटै लेगको खेल हुनेछ।

यसअघि होम एण्ड अवे गरेर दुई खेल खेल्नु पथ्र्यो। क्वाटर फाइनल, सेमिफाइनल र फाइनल सबै लिस्बनमा हुँदैछ। एट्लेटिकोले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई हराएर क्वाटरफाइनल स्थान पक्का गरेको थियो।

च्याम्पिन्स लिगको क्वाटरफाइनल १२ र १५ अगस्टमा हुनेछ भने सेमिफाइनल १८ र १९ को बीचमा हुँदैछ। फाइनल खेल २३ अगस्टमा हुनेछ।

प्रकाशित मिति: : 2020-08-10 17:12:23

प्रतिकृया दिनुहोस्