नाइजरमा ६ फ्रेञ्च नागरिकको हत्या

पश्चिमी अफ्रिकी देश नाइजरमा आइतबार फ्रान्सका ६ पर्यटक तथा उनीहरूको दुई गाइडको गोली हानी हत्या भएको छ। यी सबै नाइजरको काउरे जिराफ पार्कमा घुम्न गएका थिए। 

नाइजरका गृह मन्त्रीले समेत घटनाको पुष्टी गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुअल मेक्रोले घटनालाई लिएर नाइजरका राष्ट्रपति महमदु इसुफुसँग कुराकानी गरेको बताइएको छ। मेक्रोले घटनालाई कायरतापूर्ण भनेका छन्। 

उनले नाइजरको सालेह क्षेत्रमा आतंकवादी गतिविधिको अन्त्यका लागि हरसम्भव सहयोग गर्न आश्वासन दिएका छन्। 

मारिएका फ्रान्स नागरिक नाइजरमा समाजसेवामा जोडिएका थिए। यो घटनापछि युरोपका केही देशले नाइजरको भ्रमण नगर्न आफ्नो नागरिकलाई चेतावनी दिएका छन्। फ्रान्सले पनि नाइजरमा रहेका अन्य नागरिकलाई राजधानी छोडेर बाहिर ननिस्कन निर्देशन दिएको छ। 

घटना काउरे जिराफ रिजर्भ गाइड संघका अध्यक्षको पनि हत्या भएको बताइएको छ। यो ठाउँ नाइजरको प्रमुख पर्यटकीय क्षेत्रमा पर्छ। ७२ किलोमिटरको जंगलमा पर्ने यो स्थानमा बोको हरम, आइएस र अल कायदा जस्ता आतंकवादी संगठन सक्रिय छन्। 

तीन वर्षअघि पनि जिराफ पार्कको तिलाबेरी क्षेत्रमा ४ जना अमेरिकी नागरिकको हत्या भएको थियो।

प्रकाशित मिति: : 2020-08-11 09:14:57

प्रतिकृया दिनुहोस्