कोरोना अपडेटः विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । 

स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुकहरु रहेका छन् । 

संयुक्तराज्य अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा ९ लाख, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, मेक्सिकोमा ४ लाख ९२ हजार, पेरुमा ४ लाख ८९ हजार तथा कोलम्बियामा ४ लाख १० हजार संक्रमित छन् ।

कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका नागरिक पनि संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरण अनुसार अमेरिकामा हालसम्म १ लाख ६७ हजार, ब्राजिलमा १ लाख ३ हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ । 

युरोपेली मुलुकहरुमा पछिल्ला दिनमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपी युरोप महादेशमा कूल संक्रमितमध्ये २ लाख ७ हजारको मृत्यु भइसकेको छ । 

भाइरस फैलिनेक्रम तिब्र रहेको दक्षिण अमेरिकी महादेशमा हालसम्म १ लाख ६३ हजार, एसियामा १ लाख १३ हजार, उत्तर अमेरिकामा २ लाख ३८ हजार, अफ्रिकामा २४ हजारको ज्यान गएको छ । 

प्रकाशित मिति: : 2020-08-12 17:47:17

प्रतिकृया दिनुहोस्