काठमाडौं उपत्यकामा राति ९ बजेपछि हिँडडुलमा कडाइ

राति ९ बजेपछि हिँडडुल गर्न नपाइने गृहमन्त्रालयको आदेश आजदेखि काठमाडौंमा कडाइका साथ पालना भइरहेको छ। काठमाडौंमा कोरोना भाइरस संक्रमण तीब्र गतिमा फैलन थालेपछि काठमाडौंमा राति ९ बजेपछि हिँडडुल गर्न कडाइ गरिएको हो।

गृह मन्त्रालयले साउन २१ गते राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ। करिब १ सातासम्म भने प्रहरीले गृहको यो आदेश पालना गर्न कडिकडाउ गरेको थिएन।

महानगरीय प्रहरी महाशाखाका प्रवक्ता एसएसपी सुशील कुमार यादवका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लामा आजदेखि ९ बजेपछि हिँडडुल गर्न नपाइने नियम कडाइका साथ लागू गरिएको छ। उनले तीनै जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरेर कडाइ गरिएको बताए।

एसएसपी यादवका अनुसार उपत्यकाका मुख्य बजार क्षेत्र र चोकहरूमा सुरक्षा जाँच कडा पारिएको छ। त्यस्तै हरेक प्रहरी इकाइहरूलाई पनि आ-आफ्नो क्षेत्रमा कडाइ गर्न निर्देशन भएको छ।

 

प्रकाशित मिति: : 2020-08-13 00:05:26

प्रतिकृया दिनुहोस्