२५ वर्षपछि पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी

काठमाडाैं

नाटकीय कमब्याक जित निकाल्दै पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा ईटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो।

पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो। २६ औं मिनेटमा मारियो पसालिसले पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउँदै क्लबलाई अग्रता दिलाएका थिए।

खेलको अन्तिम मिनेटमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। उनले ब्राजिलियन सुपरस्टार नेयमारको उत्कृष्ट पासमा गोल गरेका थिए।

लगत्तै ईन्जुरी समयमा चोपो मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए। उनले दोस्रो हाफमा मैदान छिरेका केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

खेलको अन्तिम मिनेटमा एटलान्टाका लुईस मुरिलले बराबरी गर्ने अवसर गुमाएपछि पीएसजी २५ वर्षको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको हो।

अब पीएसजीले सेमिफाइनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: : 2020-08-13 06:18:11

प्रतिकृया दिनुहोस्