बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण

एजेन्सी

बार्सिलाेना

स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। उनी प्रि–सिजनको अभ्यासमा दौरान टोलमिा रहेका ९ खेलाडीको समूहका एक हुन्।  

तर बार्सिलोनाले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। उनी हाल घरमै क्वारेन्टिनमा रहेको जनाइएको छ।

संक्रमित खेलाडीको सम्पर्क च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि लिस्बोन गएका खेलाडीहरुसँग नरहेको बार्सिलोनाले स्पष्ट पारेको छ।

साथै यी खेलाडीमा कुनै लक्षण नदेखिएपनि पिसिआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको बताइएको छ।

यस्तै बुधबार अर्को ला लिगा क्लब एथ्लेटिको बिल्बाओले प्रि–सिजन प्रशिक्षणमा फर्किएका मध्ये ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ। 

त्यस्तै, भ्यालेन्सियाले पनि यसै साता आफ्ना दुुई खेलाडीमा कोरोना देखिएको पुष्टि गरेको थियो। 

च्याम्पियन्स लिगको क्वाटरफाइनल पूर्व भएको परीक्षणमा एथ्लेटिको मड्रिडका दुईजनामा पनि संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसका कारण यसपटक च्याम्पियन्स लिगका क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरु सबै लिस्बनमा हुँदैछन्, क्वाटरफाइनल र सेमिफाइनलको नतिजा निर्धारण सिंगल लिग अर्थात् एकै खेलबाट हुनेछ। त्यस्तै, सर्वसाधारणले रंगशाला प्रवेश गर्न पाउने छैनन्। 

शुक्रबार बार्सिलोनाले बार्यन म्युनिख र त्यही दिन एथलेटिको म्याड्रिडले आरबी लाइपजिकको सामना गर्नेछन्। 

प्रकाशित मिति: : 2020-08-13 07:30:02

प्रतिकृया दिनुहोस्