एकता जोगाउन म चुप लागेको छु

सत्तासीन नेकपाभित्र चर्कंदो घर झगडाले एकताको २६ महिनामै कतै पार्टी नै विभाजन त हुँदैन भन्ने आशंका व्याप्त छ। प्रधानमन्त्री एवं अध्यक्ष केपीशर्मा ओलीले पार्टी विभाजन नहुने बताएका छन्। गत असार १० देखि सुरु भएको पार्टी स्थायी समितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो।

साउन १३ मा स्थायी समिति बैठक नै एउटा पक्षले स्थगित गर्ने र अर्काे पक्षले बोलाउने दोहोरीका बीच विवाद समाधानको थप सूत्र फेला परेको छैन। प्रधानमन्त्री ओलीले अन्नपूर्ण मिडिया गु्रपको एपीवान एचडी टेलिभिजनमा सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा शो’ कार्यक्रममार्फत वरिष्ठ पत्रकार भूषण दाहालले गरेको अन्तर्वार्तामा अबको पाँच दिनभित्रै नेकपाभित्रको सिनारियो नै नयाँ खालको देखापर्ने दाबी गरेका छन्। प्रस्तुत छ, उक्त अन्तर्वार्ताको सम्पादित अंश :

प्रधानमन्त्रीज्यू, वेलकम टु द ब्राभो डेल्टा सो।

थ्यांक यु।

अहिले अलि अप्ठ्यारो समय छ, म मास्क लगाएरै प्रश्न सोध्ने अनुमति चाहन्छु।

ठीक छ।

प्रधानमन्त्रीज्यू यसभन्दाअघि करिब आधा वर्षअघि यसरी नै एउटा अन्तरंग कुराकानी गर्ने मौका जुरेको थियो। त्यतिबेला प्रधानमन्त्रीज्यूको स्वास्थ्य बारेमा सबैभन्दा धेरै पब्लिक कन्सर्न थियो। मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएर हुनुभयो। तपाईंलाई कतिपय नेपाली र नेपालबाहिर पनि ‘मेडिकल मिराकल’ हो भन्छन्, हुन त यो चिकित्सकीय चमत्कार नै हो। अहिले स्वास्थ्य अवस्था कस्तो छ ? इफ यु डन्ट माइन्ड।

स्वास्थ्य देखिराख्नु भएको छ। कुनै प्रकारको समस्या छैन। अहिलेको किड्नी ट्रान्सप्लान्ट भन्दा अघिल्लो पटक प्रत्यारोपण गरेको किड्नीले लगभग १३ वर्ष काम गरेको थियो। एक वर्षजति केही समस्या देखिएको थियो। मैले भनेको थिएँ, दोस्रो ट्रान्सप्लान्ट आजको जमानामा ठूलो कुरा होइन। त्यो सहज ढंगले हुन्छ। मेडिकल मिराकल त त्योभन्दा अघिल्लो पटकको इन्फेक्सनको जुन अप्रेसन भएको थियो, त्यो मेरा लागि खतरनाक थियो, मेडिकल मिराकल जस्तो थियो। यो दोस्रो पटकको ट्रान्सप्लान्ट ठूलो कुरा होइन। मानिसले भन्ने गरेका छन्, कहिले अमेरिका, कहिले कहाँ भने, म जुन उपचार यहाँ हुन्छ, त्यसकै लागि बाहिर जान्न। यहाँ उपचार नहुने रोगको लागि मात्रै म बाहिर जान्छु। नेपालमै सम्भव हुने भएकाले दोस्रो प्रत्यारोपण यहीं गराएँ, नेपालकै डाक्टरबाट, नेपालकै अस्पतालमा नेपालकै साधन प्रयोग गरेर।

तर मिराकल होइन भनिरहँदा पनि दोस्रो प्रत्यारोपणपछि पनि कोही पनि मान्छे १५ दिनअघि आफ्नो एक्टिभ काममा फर्कन सक्दैन भन्छन्।

अँ, सक्दैन।

तपाईं त फर्किदिनुभयो नि ? कतिपयले भन्छन्, प्रधानमन्त्रीको आत्मविश्वास चाहिँ मिराकल्स छ भन्छन् नि ?

त्यो पनि होला अलिकति। म अनुमान गर्न सक्छु। मैले स्वास्थ्य विज्ञानसम्बन्धी थोरबहुत जानकारी लिएको छु। त्यसको विविध पक्षको विश्लेषण गरेर निष्कर्ष निकाल्छु। त्यसकारण म अप्रेसनमा जानुअघि स्वस्थ भएर फर्कने सुदृढ आश्वासन जनसमक्ष गरेको थिएँ, विश्वास दिलाएको थिएँ। त्यो त्यत्तिकै थिएन। आफूलाई बिरामी नै ठान्ने हो भने, चारपाँच महिनापछि बेडबाट उठ्छ। सिसाको फ्रेमभित्र बसेजसरी बस्छ। जसरी अहिले हामी कोभिड —१९ को सन्दर्भमा बसेका छौं। त्यसरी नै संक्रमणको खतरा बढी हुन्छ, हामीले अलि बढी ध्यान दिनुपर्छ। क्रमशः प्राकृतिक इम्युन सिस्टम आन्तरिक रूपमा विकास पनि गर्नुपर्छ। अलिकति तातो लाग्न नहुने, अलिकति चिसो लाग्न नहुने खालको पनि हुनुहुँदैन। नियमित रूपमा औषधी सेवन गर्नुपर्छ। त्यति गरेपछि किड्नी रिजेक्सनको खतरा हुँदैन। रिजेक्सनको खतरा नभएपछि किड्नीले राम्रो काम गर्छ।

प्रकाशित मिति: : 2020-08-13 10:30:34

प्रतिकृया दिनुहोस्