पाकिस्तान र इंग्ल्यान्डबीचको खेलमा लगातार दोस्रो दिन पनि मौसम बाधक

एजेन्सी

काठमाडौं

इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार दोस्रो दिन पनि मौसमले अवरोध गरेको छ । पहिलो दिन प्रभावित बनेको खेलको दोस्रो दिन पनि वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेन ।

दोस्रो दिनको समाप्तिमा पाकिस्तानले ८६ ओभरमा ९ विकेटको क्षतिमा २ सय २३ रन बनाएको छ। विकेटकिपर मोहम्मद रिजवान १ सय १६ बलमा ५ चौका सहित ६० रनमा अविजित छन् । नसिम शाहले १ रनबाट साथ दिने छन् ।

उप कप्तान बाबर आजम १ सय २७ बलमा ३ चौका सहित ४७ रनमा क्याच आउट भए। बाबरलाई स्टुअर्ट ब्रोडले जस बटलरबाट क्याच आउट गराएका थिए । असाद शफीक ५, मोहम्मद अब्बास २ र शाहिन अफ्रिदी शून्यमा आउट भए ।

त्यसअघि पहिलो दिन ओपनर शान मसूदलाई जेम्स एन्डरसनले तेस्रो ओभरको दोस्रो बलमा एक रनमा एलबिडब्लू आउट गरे । दोस्रो विकेटको लागि आबिद अली र कप्तान अजहर अलीले ७२ रनको साझेदारी गर्दै समालिने प्रयास गरेका थिए । तर कप्तान अजहर अलीलाई एन्डरसनले २० रनमा रोरी बन्र्सबाट क्याच आउट गराएपछि पाकिस्तानले नियमित विकेट गुमाएको थियो ।

साम करनले रोरीबाट क्याच गराउनु अघि ओपनर आबिद अलीले १ सय ११ बलमा ७ चौका सहित ६० रनको योगदान दिए । ११ वर्षपछि पाकिस्तानको टोलीमा पूनरागमन फवाद आलमलाई क्रिस वोक्सले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएका थिए ।

इंग्ल्यान्डका जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान ३ विकेट लिएका छन् । साम करन र क्रिस वोक्सले पनि १-१ विकेट लिएका छन् । 

तीन खेलको टेष्ट सिरिजमा पहिलो खेलमा इंग्ल्यान्ड तीन विकेटले विजयी हुँदै १–० को अग्रता कायम गरेको छ । इंग्ल्यान्ड एक खेल अगाडिनै सिरिज जित्न चाहान्छ भने पाकिस्तान बराबरी गराउने सोचमा छ ।

प्रकाशित मिति: : 2020-08-15 09:48:10

प्रतिकृया दिनुहोस्