काठमाडौं उपत्यकामा ९७ सहित देशभर ४६८ जना थपिए

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९७ सहित मुलुकभर थप ४६८ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ।

गएको नौ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ।

सवैभन्दा बढी संक्रमित आज पनि काठमाडौंमै थपिएका छन। काठमाडौंमा ८० जनामा संक्रमण पुष्टि भएको छ। ललितपुर र भक्तपुरमा भने ९–९ जना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका हुन्।

शनिबार निको भएर घर फर्कने संक्रमित संख्या भने १२४ जना मात्रै छन्। यो सहित डिस्चार्ज हुने संक्रमित संख्या १७ हजार २०१ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ६६.१० प्रतिशत संक्रमित निको भएका छन्।

२४ घण्टामा थप तीन जनाको मृत्यु भएपछि नेपालमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ। मन्त्रालयले कपिलपस्तु, धनुषा र पर्सामा एक–एक जनाको मृत्यु भएको जनाएको छ।

कपिलवस्तुका ४० वर्षीय पुरुषको ३१ साउन बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। शुक्रबार साँझ पर्साका ६० वर्षीय पुरुषको मृत्यु भएको थियो। नारायण अस्पतालमा उनको मृत्यु भएको हो। यस्तै धनुषाका ५० वर्षीय पुरुषको २९ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हाल उपचारत संक्रमित संख्या आठ हजार १९३ छ। प्रदेश १ मा ८५४, प्रदेश २ मा दुई हजार ८२७, बागमती प्रदेशमा दुई हजार दुई, गण्डकी प्रदेशमा २६२, प्रदेश ५ मा ७३६, कर्णाली प्रदेशमा २२५ र सुदूरपश्चिममा ८१० जना संक्रमित उपचारत छन्।

मन्त्रालयका अनुसार, शनिबार एघार हजार ४७ जनाको पीसीआर परीक्षण भएको हो। ३७ प्रयोगशालाबाट अहिलेसम्म नेपालमा पाँच लाख ६ हजार ६० जनाको पीसीआर परीक्षण भएको छ।

प्रकाशित मिति: : 2020-08-15 16:39:49

प्रतिकृया दिनुहोस्