म्युजिक भिडियाेमा राष्ट्रिय झण्डा जलाउने एक पक्राउ

नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीतकाे  म्युजिक भिडियाे बनाउने क्यामेराम्यान पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको हाे।

यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।

सोमबार ‘देशद्रोही’ शीर्षकको गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको थियाे।   

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ। 

यसका साथै भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्वीर पनि जलाइएको छ।

अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ। सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका थिए। यसपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो।

'गायकको खोजी तीव्र भइरहेको छ,' महाशाखाका प्रवक्ता ईश्वर कार्कीले भने,'बितृष्णा फैलाउने गम्भीर कसुर गरेको छ। हामीले अनुसन्धान गरिरहेका छौं।'

महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।

प्रकाशित मिति: : 2020-08-18 15:07:55

प्रतिकृया दिनुहोस्