बर्राचौरमा सुविधा सम्पन्न अस्पताल

बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र यस किसिमको अस्पताल रहेको थियो । 

 बिहादी– २ का  वडाध्यक्ष ओमप्रकाश कुँवरले रु.१९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरुआत भएको जानकारी दिए । यसका लागि बोलपत्र आव्हान  गर्ने प्रक्रियामा रहेको छ । सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतबासी सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा तथा बुटवल लगायतक ठाउँमा जान बाध्य थिए । उनले अस्पतालमा सबै सेवा रहने जानकारी दिए ।  उक्त क्षेत्र अहिले पनि स्वास्थ्य चौकीका भरमा रहेको छ । 

अस्पताल बनाउनका लागि स्थानीय आठ जनाले निःशुल्क जग्गा दान गरेका छन् । उनीहरुमा डोलेन्द्र गिरी, भूपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, सुशीला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराई रहेका छन् ।
  
सामाजिक सेवा गर्नु ठूलो कुरा भएको र  आत्मसन्तुष्टिका लागि जग्गा दिइएको जग्गादाता डोलेन्द्रले बताए ।  उनले  ४० लाख रुपैयाँ मूल्य बराबरको पाँच रोपनी जग्गा दान दिएका थिए ।
  
बर्राचौर स्वास्थ्य चौकीका प्रमुख भूुपेन्द्रनाथ पौडेलले ग्रामीण ठाँउमा १५ श्य्याको विशेषज्ञ सेवा सहितको अस्पताल बन्नु खुशीको कुरा भएको जनाउँदै बिरामी पाल्पा र पोखरा लगायतठाउँमा धाउनु पर्ने बाध्यता अन्त्य हुने बताए ।
 
अस्पताल निर्माणपछि बिहादी र पैँयू गाउँपालिका सहित फलेवास नगरपालिकाका स्थानीय लाभान्वित हुनेछन् । साथै छिमेकी जिल्ला बाग्लुङको जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका जनताले समेत लाभ लिने जनाइएको छ । 

बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले  विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण हुनु गौरवको कुरा भएको जनाए ।  सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि पाल्पा, बुटवल र पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने  उनले  विश्वास व्यक्त गरे । 'मानिसहरु स्वास्थ्य सेवाको अभावकै कारण बसाइँसराइ गर्ने क्रम बढ्दो छ । अस्पताल बनेपछि यो क्रम केही रोकिनेछ', उनले भने । दुई वर्षभित्र अस्पतालको निर्माण पूरा गर्न गाउँपालिकाले सहजीकरण गर्ने  छ । 

 कालिज फार्म सञ्चालन

पहिले जङ्गलमा मात्र पाइने ‘कालिज’  प्रजातिको पक्षी अहिले धेरैका भान्सामा सहजै स्वादिलो परिकारका रुपमा पाइन्छ । यसको स्वादको पारखी बढ्न थालेपछि  कुस्माका एक  व्यावसायीकले  झण्डै दुई करोड लगानी गरेर ‘रिङ्ग नेक’ जातको  कालिज फार्म सञ्चालनमा ल्याएका छन ।

व्यवसायी मनोज पौडेल र चन्द्रा पौडेल क्षेत्रीले  कुस्मा नगरपालिका –८ ओडारेमा ‘एमसी वाइल्ड लाइफ, एग्रो एण्ड रिर्सच सेन्टर’ले व्यवसायिक रुपमा कालिज सहित कडकनाथ र  स्थानिय जातका कुखुरा पालन गर्न शुरुआत गरेका हुन । 

जङ्गलमा पाइने चिर कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ  । अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाइ बन्दै गएको छ । पौडेल दम्पतीले कालिजको माग बढेपछि गण्डकी प्रदेशको पर्यटकीय हवका रुपमा रहेका पोखरा र साविकको धौलागिरी अञ्चालका पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गका ग्राहकलाई लक्षित गरि मध्यपहाडी लोकमार्गको पोखरा – बागलुङ्ग खण्डमा फर्म सञ्चालनमा ल्याएका हुन्  । 

कोरोनाको कहरका बीचमा पनि कालिज, स्थानीय कुखुरा कडकनाथ, लौकाट, टर्कीको माग अत्याधिक भएको सञ्चालक मनोजले बताए । 'पछिल्ला दिनमा कालिज र कडकनाथ जस्ता पंक्षीको माग अत्याधिक छ'  उनले भने, ‘लकडाउनमा पनि माग अनुसार पु¥याउन कठिन भएको छ ।'

उनका अनुसार फार्ममा गत बर्ष १ सय ५० कालिजका चल्ला तथा  स्थानीय कुखुरा, कडकनाथ, लौकाट, टर्की गरि एक हजार चल्लाबाट शुरुआत गरिएको थियो । राजमार्ग नजिक र धौलागिरी अञ्चलको प्रवेशबिन्दु भएका कारण पनि बजारको समस्या नभएपछि यस बर्ष फर्म विस्तार भएको छ । यस बर्ष ८ सय भन्दा बढी कालिज पालिएको छ भने ४ हजार भन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको छ । 

यी सबैले अण्डा दिएपछि यस बर्ष मात्रै पाँच हजार कालिज र १५ हजार भन्दा बढी अन्य जातिका चल्ला बिक्री गर्ने योजना उनको छ । आफैले ह्याचरी मेसिन समेत राखेर चल्ला उत्पादन गरि बिक्री पनि गर्दै आएका छन् । 'यो वर्ष माग आउने हो भने सबै गरि ५० हजार सम्म चल्ला उत्पादन गर्न सक्छौ ।'

कुस्माबजारमा हार्डवोयर व्यवसाय गर्दै आएको ती दम्पतीले हार्डवोयरसंगै कृषिमा पनि हात हालेको हो । अहिले सम्म कुनै सरकारी अनुदान समेत  र्फमले लिएको छैन । कृषिका फर्म सञ्चालन गर्ने भनेपछि पहिले सरकारी मुख ताक्ने प्रबृत्ति बढेको बेला आफ्नै पाखुराका भरमा व्यवसाय सञ्चालन गर्ने अठोट ती दम्पतीको छ । 'सरकारले अनुदान देला भनेर ब्यबसाय शुरु गरिएको होइन' सञ्चालक चन्द्रा क्षेत्रीले भने, 'सरकारले अनुदान दियो भने अझै ब्यबसायलाई बढाउन सहयोग पुग्छ ।'

 फर्ममा उत्पादित कालिज, कुखुराहरु पोखरादेखि मुस्ताङ्गसम्म पुगेका छन् । फर्म अगाडी होटल र फ्रेस हाउस समेत सञ्चालन भएकाले जिउँदो किन्नेदेखि मासु लैजाने सुविधा पनि छ । स्वादिष्ट रुपमा खानका लागि पनि रिसिका होटल समेत सञ्चालनमा छ । फर्ममा उत्पादित कालिज , कडकनाथ, लौकाट, स्थानीय कुखुरा र मोदीको असला माछा समेतका परिकार होटलमा पनि उपलब्ध गराउन थालिएको छ । 

प्रकाशित मिति: : 2020-08-23 17:25:26

प्रतिकृया दिनुहोस्