छैटौं पटक वायर्नले उचाल्याे च्याम्पियन्स लिगकाे उपाधि

जर्मन च्याम्पियन वायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। 

लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै वायर्न छैटौं पटक उपाधि जित्न सफल भएको हो।

वायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो। पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न सकेको थिएन। दोस्रो हाफमा वायर्नले आक्रमणमा केहि बढावा दिँदै गोल निकाल्न सफल भयो।

खेलको ५९ औं मिनेटमा वायर्नले किंग्सले कोमानको गोलमा अग्रता लियो। पीएसजीका पूर्व खेलाडी कोमानले हेडरमार्फत गोल गर्दै वायर्नलाई अग्रता दिलाए। जोशुवा किम्मिचको क्रसमा कोमानले ६ यार्ड बक्सको ठिक बाहिर अनमार्क रहेको अवस्थामा नाभासलाई बिट गरे।

खेलको ७० औं मिनेटमा नोएरले अर्को उत्कृष्ट बचाउ गर्दै वायर्नको अग्रता कायम राखे। डी मारियाले अलाबालाई नटमेग गर्दै दिएको लो क्रसमा मार्किन्हसको प्रहारलाई नोएरले खुट्टाले छेके। ७४ औं मिनेटमा नेयमारको प्रहार पोस्टभन्दा बाहिर गयो।

यस जितसँगै वायर्नले छैटौं पटक च्याम्पियन्स लिग उपाधि हासिल गर्यो। यता पहिलो पल्ट फाइनल पुगेको पीएसजी भने उपाधिबाट बन्चित हुन पुग्यो।

प्रकाशित मिति: : 2020-08-24 05:26:22

प्रतिकृया दिनुहोस्