नेपाली फूटबलमा कोरोनाकाल: राष्ट्रिय टोलीकै संरचना उलटफेर हुने बाटोमा

हिमाल खबर

काठमाडौँ

निरञ्जन राजवंशी

सन् २०२१ सम्म फूटबलका सम्पूर्ण गतिविधि रोक्ने विश्व फूटबल महासंघ (फिफा) र एशियाली फूटबल महासंघ (एएफसी)को गत साताको निर्णय नेपाली फूटबलको लागि अप्रिय खबर थियो। 

क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गराई प्रशिक्षण शुरु गर्ने सरकारको अनुमति पाइसकेको अवस्थामा अभ्यास मैदान छिर्ने तरखरमा रहेका राष्ट्रिय फूटबल टोलीका खेलाडीहरु फिफा र एएफसीको यो निर्णयसँगै पोकापन्तुरा बाँधेर घर फर्कनु पर्‍याे।   

कोरोना संक्रमणको भयावह अवस्थामा विश्व फूटबलसँगै नेपाली फूटबल पनि रोकिनुको विकल्प भएन। 

विश्वकप छनोट २०२२ र एशियन कप छनोट २०२३ का नेपालमा हुने खेल आयोजना गर्ने सबै तारतम्य मिलाइसकेको अवस्थामा सिर्जित यो अवस्थाबाट अखिल नेपाल फूटबल संघ (एन्फा) पदाधिकारीहरु निराश बनेका छन्।  

अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईलाई दशरथ रंगशालामा स्वागत गर्न आतुर एन्फाले तयारी पनि निकै गरेको थियो। खर्च पनि त्यही अनुसार भएको थियो। राष्ट्रिय टोलीका टीम व्यवस्थापक मधुसूदन उपाध्याय भन्छन्, “झन्डै ६ महीना लगाएर रंगशालाको घाँस हरियो बनायौं। प्रशिक्षण मैदान तयार पार्यौं। एन्फाको होस्टल सफासुग्घर गर्यौं। फिफाको गाइडलाइन अनुसारको सुरक्षा व्यवस्था अपनायौं। हामी (एन्फा) आफैंले पनि गाइडलाइन बनायौं। प्रशिक्षण अनुमति लिन नेताहरुको घर घर धायौं। खेलाडीहरुको पीसीआर परीक्षण गर्यौं। सबै काम गर्यौं, तर अन्तिम अवस्थामा फेरि खेल स्थगित भयो।” 
 

प्रकाशित मिति: : 2020-08-24 12:38:54

प्रतिकृया दिनुहोस्