नेपालमा सिक्नुपर्ने पाठ– न्यूयोर्कमा चिकित्सक, नर्सको सम्मान!

संजोग आचार्य

न्यूयोर्क

अमेरिकाको न्यूयोर्क राज्य कोरोना महामारीको इपिसेन्टरको रूपमा विकसित भईरहदा यहाँका गर्भनर एन्ड्रयू कुमोले भने, ‘म न्यूयोर्कवासीलाई अनुरोध गर्न चाहन्छु कि हाम्रा चिकित्सक, नर्सको सम्मानको लागि पनि मास्क लगाइदिनुहोस्, किनकि जसले तपाईँको जीवन रक्षार्थनै अहोरात्र खटिरहेर ज्यान गुमाए।’

करीब चार महिना अघिको मात्र कुरा हो, अमेरिकाको न्यूयोर्कमा डरलाग्दो ढंगले कोरोना महामारी फैलिरहँदा अस्पतालमा काम गर्ने चिकित्सक, नर्सको मनोबल बढाउन न्यूयोर्कबासीले साथ दिँदै घरको छत, झ्यालबाट तालि र थाली दुबै बजाए।

न्यूयोर्कमा सबैभन्दा बढी कोरोनाको चपेटामा रहेको क्वीन्सको एलमस्र्ट अस्पताल मूल गेट अगाडि चिकित्सक, नर्सको मनोबल बढाउन ठूलो अक्षरमा धन्यबाद (Thank You) पनि लेखियो। न्यूयोर्कका कलाकार स्कट लोबाइडोले अस्पताल अगाडिको पार्कमा ८ वाई ४० फूटको विशाल धन्यवाद चित्रकला बनाए। जुन अस्पतालमा काम गर्ने चिकित्सकलगायत कर्मचारीको सम्मान र मनोबल बढाउनको लागि थियो।

त्यतिमात्र हैन, न्यूयोर्क राज्यले कोरोनाको महामारीमा अस्पतालमा काम गर्ने चिकित्सक, नर्सहरुको बीमालगायत सेवा, सुविधामा समेत बृद्धि गर्ने घोषणा गरे। फलस्वरूप कोरोनाको इपिसेन्टको रुपमा रहेको न्यूयोर्क अहिले रोगबाट मुक्त हुँदै बिस्तारै तेस्रो चरणमा खुल्ने तयारीमा छ ।

न्यूयोर्कमा करीब ४ लाख ६० हजारको संख्यामा रहेको कोभिड १९ अहिले झरेर करीब ६४ हजारको संख्यामा छ। कोरोनाकै कारण अमेरिकामानै ठूलो संख्यामा न्यूयोर्कमा मृत्यु भए पनि अहिले दुई साता यता मृत्यूदर करीब शून्यको हाराहारीमा छ।

न्यूयोर्कमा मात्र कोरोनाले सर्वाधिक ३२ हजार ९५० जनाले ज्यान गुमाए। न्यूयोर्कका गर्भनरको चलाखीपूर्ण र मेहनतको कारण यहाँ कोरोनाले भयावह रुप लिन पाएन।

अझ पनि डर उत्तिकै छ। न्यूयोर्कबासीले मास्कलगायत सुरक्षित विधि अपनाए र चिकित्सक, नर्सले अहिलेजस्तै रात दिन नभनी मेहनत गरेको खण्डमा अमेरिकाको न्यूयोर्क कोरोनामुक्त पहिलो राज्य पनि बन्न सक्छ। किनभने संख्या निरन्तर घट्ने क्रममा छ ।

हाम्रो देश नेपाल अहिले कोरोना महामारीको शुरूवाती कठिन परिस्थितिमा छ। नेपालमा यो भन्दा पनि भयावह अवस्था आउने सम्भावना उत्तिकै छ। यस्तो कठिन परिस्थितिमा पनि चिकित्सक, नर्सले सेवा दिइरहेका छन्।

ठूलो धनराशी खर्च गरेर चिकित्सा पेशामा आएका पेशाकर्मीले अस्पतालबाटसमेत अहिले उचित सेवा सुविधा र तलब पाइरहेका छैनन्। प्रशिक्षार्थीको रुपमा अस्पतालले पनि थोरै तलबमा चिकित्सक र नर्सलाई काम लगाइरहेको हुन्छ।

नर्सको तलब एउटा पियनको बरावर पनि हुँदैन। कोरोनाको समयमा करीब ८ देखि दश हजार तलबमा पनि कतिपय नर्सहरू अस्पतालमा काम गरिरहेका छन्। यस्तो अवस्थामा चिकित्सक नर्सलाई अपमान होइन सम्मान गर्नुपर्छ। राज्य, अस्पतालहुँदै समाजबाट समेत यसरी पीडित र तिरस्कृत हुने हो भने भबिष्यमा यो पेशामा कोही पनि आउन चाहँदैनन्। अस्पतालमा चिकित्सक, नर्सको कमी हुनसक्छ।

तसर्थ कोरोना महामारीको समयमा घर परिवार नभनी दिन रात काम गर्ने चिकित्सक नर्सलाई अपमान गर्नेलाई नेपाल सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्छ।

 बलिउडमा महानायक अमिताभ बच्चन कोरोना लागे पनि अस्पतालबाट भने- ‘भारतमा मन्दिर, मस्जित, चैत्य अहिले किन बन्द छ, थाहाँ छ तपाईहरूलाई? किनभने भगवान सेतो लुगा लगाएर अहिले अस्पतालमा बिरामीलाई सेवा दिइरहेका छन्।’

हो यो कोरोना महामारीको समयमा घरपरिवार नभनी थोरै सेवा सुविधामा पनि अहोरात्र खटिरहने नेपालका भगवानरूपी यी चिकित्सक, नर्सलाई अपमान होइन तपाई हामी सबैले धन्यवाद दिँदै सम्मान गरौं।

प्रकाशित मिति: : 2020-08-24 18:57:00

प्रतिकृया दिनुहोस्