प्रभावकारी देखियो गर्भ निरोधक नयाँ साधन सायना प्रेस

सन् २०२० सम्म परिवार नियोजनको अस्थायी साधन प्रयोगमा नयाँ पद्धति अपनाउने सरकारको घोषणा अनुरुप दुई जिल्लामा गरिएको तुलनात्मक अध्ययनले ‘सायना प्रेस’ नामको नयाँ गर्भ निरोधक साधन प्रभावकारी देखिएको छ।

देवचुली नगरपालिका–१७ गौरी नवलपुरकी ४१ वर्षीया वसन्ती पौडेलले २० वर्षदेखि प्रयोग गर्दै आएको गर्भ निरोधक परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा एक वर्षदेखि प्रयोग गर्न छाडिन्। अहिले उनी परिवार नियोजनको अर्को तीन महिने अस्थायी साधन सायना प्रेस प्रयोग गर्छिन्।

तर, उनलाई सायना प्रेस सधैँ उपलब्ध हुन्छ कि हुँदैन भन्ने चिन्ता छ। उनी भन्छिन् “सायना प्रेस प्रयोगका लागि राम्रो त छ, तर यसको उपलब्धता नभएर फेरि डिपो नै लगाउनुपर्ने हो कि भन्ने चिन्ता छ।”  

यस्तो चिन्ता सोही ठाउँकी पवित्रा आचार्य (४२) लाई पनि छ। उनका श्रीमान् भारतमा रोजगारीका लागि जान्थे। कोरोनाभाइरस महामारीका कारण श्रीमान् घर फर्केपछि उनले अस्थायी साधन सायना प्रेस प्रयोग गर्न शुरु गरिन्।

त्यसअघि श्रीमान् घर आउँदा मात्र उनले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्थिन्। अब श्रीमान् रोजगारका लागि बाहिर नजाने भएकाले आफ्नो लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु बाध्यता रहेको आचार्य बताउँछिन्।

“हामीले एउटा साधन प्रयोग गरेपछि सधैंभरि त्यही नै प्रयोग गर्न पाउनुपर्छ, कहिले एउटा, कहिले अर्को प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा समस्या हुन्छ”, उनी भन्छिन्। आफूहरुले यो विषय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पनि भनिसकेको उनले बताइन्। उनीहरुले स्वास्थ्यकर्मीकै सल्लाहमा सायना प्रेस लगाएका हुन्।

पौडेल र आचार्यको जस्तो सरोकार दिलमाया परियार (२९) को पनि छ। फरक फरक गर्भ निरोधक साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न समस्या हुने उनको भनाइ छ। अहिलेसम्म प्रयोग गरिएका साधनमध्ये तीन महिने सुई सायना प्रेस स्वास्थ्यका हिसाबले उत्तम लागेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-08-24 23:14:45

प्रतिकृया दिनुहोस्