राष्ट्रपति नै बन्दुक बोकेर प्रदर्शनकारीविरूद्ध मैदानमा उत्रिए (भिडियो)

रमेश राज बाँस्तोला

पोर्चुगल (लिस्बन)

तानशाह भन्ने शब्द हामीले सानै उमेरदेखि सुन्दै र पढ्दै आएका छौं। इतिहासमा तानाशाह थुप्रै थिए। 

तर, के तपाई अहिलेको २१ औं सताब्दीमा तानाशाहको परिकल्पना गर्न सक्नु हुन्छ? हुँदैन भने, हेरौं बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई। 

उनी यही सोमबार बेलारुसको राजधानी मिन्स्कस्थित इन्डिपेन्डेन्स भवनमा आफै राइफल बोकेर बाहिर निस्किए। उनको यो हर्कत देखेर युरोपेली देशहरू चकित परेका छन्। 

युरोपमा बेलारुस मात्र तानशाह भएको देश हो। यहाँ भर्खरै चुनाव भएको थियो। तर, चुनावमा व्यापक धाँधली भएपछि जनताहरू सडकमा उत्रिएका थिए। 

लुकासेन्को २६ वर्षदेखि लगातार यहाँको राष्ट्रपति पदमा आसिन छन्। रुसको पश्चिमी सीमासँग जोडिएको यो देशमा १५ दिनअघि चुनावको नतिजा सार्वजनिक भएको थियो। 

बेलारुसमा भइरहेको हिंसात्मक प्रदर्शनमा ४–५ जनाको निधन भइसकेको छ भने ६ हजारभन्दा बढी मानिसलाई बन्दी बनाइएको छ। चुनावको नतिजालाई लिएर युरोपेली महासंघदेखि बेलायत र क्यानडाले आपत्ति जनाइसकेका छन्।

सोमबार लुकासेन्को राइफल बोकेर बाटोमा उत्रिएको घटनालाई सबैले शक्तिको उन्मादको रूपमा लिएका छन् र उनी प्रदर्शनकारीको अगाडि नझुक्ने स्पष्ट सन्देश पनि हो। लुकासेन्कोले चुनावमा ८० प्रतिशतभन्दा बढी मत आफूले प्राप्त गरेको देखाएका थिए। 

प्रतिपक्षी राष्ट्रपतिको उम्मेदबार स्वेतलाना तिखानोब्सना देशमा भड्किएको हिंसा तथा लुकासेन्कोको हर्कतलाई मध्यनजर गर्दै छिमेकी लुथवेनियामा शरण लिन पुगेकी छिन्। 

स्वेतलाना पेशाले शिक्षिका हुन्। प्रजातन्त्रवादी कार्यकर्ता आफ्नो श्रीमानलाई लुकासेन्को सरकारले जेलमा कोचेपछि उनी बिद्रोही भएकी हुन्। 

सन् १९९१ मा रुसबाट स्वतन्त्र भएको बेलारुसमा १९९४ मा पहिलो आमचुनाव भएको थियो। लुकासेन्को त्यही बेलादेखि नै राष्ट्रपति छन्। 

उनीसँगै छोरा पनि राइफल बोकेर बाटो निस्किएको देखिएको छ। सोमबार प्रदर्शनकारी इन्डिपेन्डेन्स भवन अगाडि प्रदर्शनमा जुटेका थिए। 

यही बेला लुकासेन्को हेलिकोप्टरबाट तल उत्रिएका थिए। उनको हातमा ‘क्लास्निकोभ अटोमेटिक राइफल’ देखिएको थियो। उनले बुलेटप्रुफ ज्याकेट लगाएका थिए।

प्रकाशित मिति: : 2020-08-25 07:19:18

प्रतिकृया दिनुहोस्