धानबालीमा गवारो रोगको प्रकोपः किसान चिन्तित

रासस

राजविराज 

 सप्तरीमा लगाइएको धानबालीमा गवारो रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । एक महिनाअघि आएको बाढीले धानबालीमा ठूलो क्षति पु¥याएको र अहिले गवारो रोग देखिन थालेपछि किसान थप चिन्तित बनेका हुन् । 

यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एक महिनाअघि आएको बाढी र अहिले एकाएक रोगको प्रकोप देखिन थालेपछि मारमा परेका हुन् । 'समयमै वर्षात् भएका कारण यस वर्ष रोपाइँ सकेका थियौँ', तिलाठी कोइलाडी गाउँपालिकाका किसान श्यामसुन्दर खडगाले भने, 'यस वर्ष धान उत्पादन बढ्ने भो भनेर खुशी भएका थियौँ । तर बाढी र गवारो रोगको प्रकोप देखिएपछि चिन्तित भएका छौँ।' 

पुतली प्रजातिको गवारो किराले धानको गाभा काटेर क्षति गर्ने गरेको किसान बताउँछन् । किराको प्रकोप वढ्दै जाँदा धानको वोट सुकेर पहेंलो हुन थालेको छ । एक महिनाअघि आएको बाढीबाट बचेका धानबालीमा अहिले गवारो रोगले नष्ट हुन थालेपछि आफूहरु चिन्ता बढेको अर्का किसान लाल माझीले बताए । समयमै रोग निर्मूल पार्न नसके बाली सखाप हुने र किसान भोकभोकै हुनुपर्ने अवस्था आउन सक्ने उनले बताए । सप्तरी धान खेतीमा अब्बल मानिन्छ । 

जिल्लाको तिलाठी कोइलाडी, विष्णुपुर, बालन बिहुल र खडक गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकालगायत क्षेत्रको धानबालीमा गवारो रोगको प्रकोप बढी देखिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखि ७० प्रतिशत क्षति पु¥याएको बताए । प्रकोप नियन्त्रण तथा किसानलाई राहत प्रदान गर्न गाउँपालिकाको साधान स्रोतले भ्याएसम्म आफूले पहल गरिरहेको उनको भनाइ छ । रोग नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारलाई पनि सहयोग गर्न आग्रह गरिएको उनले बताए । 

बाढी र कोरोनाको कहरबाट उन्मुक्ति नपाउँदै धानबालीमा देखिएको गवारो रोगको प्रकोपले आफूहरु थप मारमा परेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मात्रा नमिल्दा पनि बालीको जरा कमजोर भई किराको आक्रमण बढेको बताए । पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको बताउँदै उहाँले यसको रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक खटाइने काम भइसकेको जानकारी दिए। रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मलको सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर भई किराले आक्रमण गर्न थालेको उनको भनाइ । 

जिल्लाको उत्तरी भागमा गवारो किराको प्रकोप बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सप्तरी, सिरहालगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा यो रोगले धानबालीमा क्षति गर्ने गरेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि किसानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । किसानमा प्राविधिक ज्ञानको कमी र किराका लागि अनुकूल वातावरण भएका कारण गवारो रोगेको प्रकोप बढी देखिएको बताइएको छ  । 'दैनिक १०/१२ जना किसान धानमा रोग लागेको भन्दै बोट बोकेर आउने गरेका छन्', प्रमुख यादवले भने, 'धेरैजसो बाढीग्रस्त क्षेत्रमा समस्या देखिएको छ । बीउबिजन गुणस्तरीय नहँुदा बर्षेनी समस्या हुने गरेको छ ।'

रोगको पहिचान गरी किसानलाई विषादी प्रयोग गर्न सुझाव दिएको र यसबाट रोग नियन्त्रण हुने दाबी कृषि प्राविधिकको छ । गवारो रोगका लागि कोलोरो पाइरिफस नामक विषादी प्रयोग गर्न किसानलाई सुझाएको कृषि प्राविधिकको भनाइ छ । रोग हेरेर मात्र विषादीको प्रयोग गर्न पनि उनीहरुको सुझाव छ । 
 
जिल्लामा यो वर्ष ६२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानबाली गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 

प्रकाशित मिति: : 2020-08-26 16:51:12

प्रतिकृया दिनुहोस्