विदेशबाट आउने नेपालीलाई होटल क्वारेन्टिनमा राख्न ४७ सय कोठा तयार, न्यूनतम रु.११ हजार तिर्नैपर्ने

हिमाल खबर

काठमाडौँ

राजु बास्कोटा
सरकारले ९ भदौ देखि शुरु गरेको उद्धार उडानबाट आउने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्न काठमाडौैंका १५८ वटा होटलका ४७०२ वटा कोठा तयार पारेको छ।

उद्धार उडानबाट कोरोना परीक्षण नगरी आएका र पीसीआर परीक्षण रिपोर्ट ७२ घण्टा भित्रको नल्याएका सबै यात्रुले अनिवार्य एक साता होटल क्वारेन्टिमा बस्नुपर्ने निर्णय यसअघि नै सरकारले गरेको थियो। सोही निर्णय अनुसार, पर्यटक स्तरदेखि पाँच तारेसम्मका होटल क्वारेन्टिनका लागि तयार पारिएको पर्यटन विभागले जानकारी दिएको छ। 

विभागले तयार पारेको होटलको विवरण अनुसार, होटल संघ नेपाल (हान) मा आवद्ध व्यवसायीका २३३० र नेपाली होटल व्यवसायी महासंघ सम्बद्ध २३७२ गरी कुल ४७०२ वटा कोठा तयार भएको पर्यटन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार, होटल क्वारेन्टिमा बस्न ७ रात ८ दिनको न्युनतम प्रतिव्यक्ति रु.११ हजारको प्याकेज तयार पारिएको छ। यस्तो प्याकेजमा पर्यटक स्तरका र २० कोठा भन्दा बढीको कोठा संख्या भएका होटल लागि छनोट गरिएको छ। 

क्वारेन्टिनमा बस्न एक तारे-बुटिकदेखि माथि पाँच तारेसम्मका होटल तयारी अवस्थामा राखेको र सम्बन्धित होटल व्यवसायीले आवश्यक व्यवस्था मिलाएर उद्धार उडानबाट आएका यात्रु लैजाने पनि उल्लेख छ। 

 

प्रकाशित मिति: : 2020-08-27 18:09:51

प्रतिकृया दिनुहोस्