स्थानीय तह निर्वाचन

पार्टी छोडेका चन्दलाई उम्मेदवार बनाउन कांग्रेसको सिफारिस

चार वर्षअघि कांग्रेस परित्याग गरेका विश्वकुमार चन्दलाई नेपाली कांग्रेसले परिवर्तन गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनाउन सिफारिस गरेको छ।

चन्दलाई पार्टीबाट उम्मेदवार बनाउन जिल्ला कार्यसमितिमा सिफारिस गरेको नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति खडकबहादुर घर्तीले बताएका छन्। 

‘उहाँले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्नुभएको रहेछ,’ घर्तीले भने ‘त्यसपछि पार्टीका नेताहरूसँग छलफल गर्दा धेरैजनाले सहमति जनाएपछि सिफारिस गरेका हौं।’

स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेपछि कांग्रेसका नेताहरूकै आग्रहमा पार्टीले सिफारिस गरेपछि आफूले पनि स्वीकार गरेको चन्दले बताएका छन्।

‘मैले स्वतन्त्रबाट लड्ने घोषणा गरेको थिए,’ चन्दले भने ‘कांग्रेसका नेताहरूसँगको विभिन्न चरणको छलफलबाट पार्टीबाटै लड्ने सल्लाह अनुसार नाम सिफारिस भएको हो।’ यदि कांग्रेसबाट भएन भने पनि आफू स्वतन्त्रबाट उम्मेदवार बन्ने चन्दको भनाइ छ।

पार्टीमा अन्य आकांक्षीको असन्तुष्टि

पार्टीले एक्कासी चन्दको नाम सिफारिस गरेपछि नेताहरू चकित परेका थिए। चार वर्षअघि नै पार्टी छाडेर गएका चन्दको नाम सिफारिस भएपछि कांग्रेसका नेताहरूले असहमित जनाएका हुन्।

अघिल्लो निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको र हाल पार्टीको कुनैपनि सदस्य नै नभएको व्यक्तिलाई सिफारिस गरेको भन्दै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गनबहादुर घर्तीले असहमति जनाएका छन्।

उक्त सिफारिसविरूद्ध जिल्ला कार्य समितिमा उजुरी गरेको घर्तीले बताएका छन्। ‘मैले जिल्ला कार्य समितिमा उजुरी गरेको छु,’ घर्तीले भने ‘पार्टीले पुनः विचार गरेर निर्णय गर्नुपर्छ।’

चन्दले पार्टीमा फर्केको कुनै जानकारी नै नगराएकाले पार्टीको आधिकारिक उम्मेदवार बन्न नसक्ने उनको तर्क छ। ‘यदि स्वतन्त्र उम्मेदवार बन्ने भए उहाँको इच्छा हो, तर पार्टीबाट उठ्ने भए पार्टीमा फर्कनु पर्छ,’ घर्तीले भने।

यस्तै कांग्रेसका पूर्व क्षेत्रीय सभापति मालबहादुर रोकाले पनि पार्टीको सिफारिस सच्याउनुपर्ने माग गरेका छन्। ‘पार्टीमा झोला बाेकेर हिँडिरहेकालाई उम्मेदवार बनाउनुपर्छ,’ रोकाले भने, ‘पाँच वर्षअघि पार्टी छाडेर हिँडेकालाई उम्मेदवार बनाउदा कार्यकर्ताहरूमा निराशा छाउँछ।’ आफू पनि पार्टीकै लागि जिन्दगी बिताएको भएपनि यस पटक गनबहादुरलाई अध्यक्षको उम्मेदवार बनाउनुपर्ने रोकाको माग छ।

असहमति हुँदाहुँदै पनि चन्दको नाम आएपछि जिल्ला कार्यसमितिले छलफल गरेर वैशाख ३ गतेसम्म पुनः नाम सिफारिस गर्न निर्देशन गरेको छ।

चन्दकै वडामा बराबर मत आएपछि

गत ५ वर्षअघि नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षमा पराजित चन्दले केही समयपछि पार्टी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेका थिए। रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चन्दले अघिल्लो निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको स्थानीय नेताहरूको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा आफूलाई टिकट नदिएकै कारण चन्दले असहयोग गर्दा परिवर्तन गाउँपालिका ३ नम्बर वडाध्यक्षमा कांग्रेसले पराजित हुनुपरेको नेताहरूको आरोप छ। उक्त वडामा माओवादी र कांग्रेसका उम्मेदवारले बराबर मत पाएर पनि चिठ्ठामार्फत कांग्रेस पराजित हुनु परेको थियो।

यस्तै गाउँपालिकाको अध्यक्षमा भने माओवादी केन्द्रका निमकान्त डाँगी फराकिलो मतान्तरले विजयी भएका थिए। डाँगीले ४६०८ मत प्राप्त गर्दा कांग्रेसका झक्कु घर्तीले १९८९ मत पाएका थिए।

उपाध्यक्षमा सपना घर्तीको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-15 11:24:00

प्रतिकृया दिनुहोस्