भट्टराईको प्रश्न : डा केसीले जुम्लामा सत्याग्रह बस्दा संविधान र कानुनको कुन धारा र दफा उल्लंघन हुन्छ ?

फाइल तस्वीर: डा गाेबिन्द केसी

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध गरेको भन्दै विराेध जनाएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमा उनले सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा भएपनि सत्याग्रह नै बस्न दिन्न भनेर बल प्रयोग गर्नु लोकतन्त्र विपरीत भएको बताए। 

उनले डा. केसीले जुम्लामा सत्याग्रह बस्दा नेपालको संविधान र कानुनको कुन धारा र दफा उल्लंघन हुन्छ भनि प्रश्न समेत गरेका छन्।

‘सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो? डा. भट्टराईले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान र कानूनको कुन धारा र दफा उल्लंघन हुन्छ? ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ?’

भदाै १ गते सरकारलाई माग पूरा गर्न १० दिने अल्टिमेटम दिएका डा केसीकाे समय बिहीबार सकिएको हुँदा अनशन बस्न खाेजेका थिए। तर उनलाई रोक्न प्रहरीले घेरा हालेकाे थियाे।

कोरोना महामारीबीच चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्न जुम्ला पुगेका डा केसी बसिरहेकाे हाेटल राेयल गार्डेन आसपास क्षेत्रकाे सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रहरीले डा. केसी बसेको क्षेत्रमा आवतजावत पुरै बन्द गरेकाे छ।  बिहीबार बिहान डा. केसीले पत्रकार सम्मेलनको गर्न खोजे पनि सुरक्षाकर्मीले सबै सञ्चारकर्मीलाई रोकेको थियाे।

डा.केसीले अनशन एकसाता नबस्ने हिजाे नै बताइसकेका छन्। 

प्रकाशित मिति: : 2020-08-28 13:13:59

प्रतिकृया दिनुहोस्