ह्वाइट हाउसबाटै ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी स्वीकार गरे, डेमोक्र्याटमाथि तिखो प्रहार

संजोग आचार्य

न्युयाेर्क

रिपब्लिकन पार्टीको शुक्रबार सम्पन्न ‘नेशनल कन्भेन्सन’ ले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदको उम्मेदवारी घोषित गरेको छ। ट्रम्प ह्वाइट हाउसबाटै यस कन्भेन्सनमा सहभागी बने र उनले राष्ट्रपति पदको दोस्रो कार्यकालका लागि पार्टीले अगाडि सारेको आफ्नो नामलाई स्वीकार गरे।

उनले उम्मेदवार स्वीकार गर्दै दिएको भाषणमा आफ्नो प्रतिद्धन्द्धी डेमोक्र्याटिक पार्टीका जो वाइडेनप्रति कठोर शब्द प्रयोग गरे। 

उनले भने–‘राष्ट्रपतिको पदमा वाइडेनले जित हासिल गरेभने अमेरिकामा कोही पनि सुरक्षित रहने छैनन्।’ उनले वाइडेनको पृष्ठभूमि कम्युनिष्ट अतिवादसँग जोडिएको दावी गर्दै भने, ‘उनले जित्नु भनेको देशबाट कानुनी व्यवस्था समाप्त हुनु हो।’

ट्रम्प देशका पहिलो राष्ट्रपति हुन्, जसले पार्टीको राष्ट्रिय भेलालाई ह्वाइट हाउसबाटै सम्बोधन गरेका छन्। यस अवसरमा उनका हजारौं समर्थक पनि ह्वाइट हाउसको अगाडि पट्टिको खाली चौरीमा जम्मा भएका थिए। 

करिब १ घण्टा ११ मिनेट लामो भाषणमा ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टी प्रति तिखो प्रतिक्रिया व्यक्त गरें। उनले गैरकानुनी रूपमा आफ्नो देशमा बसिरहेका विदेशी तथा पेरिसमा भएको पर्यावरण सम्झौंतालाई रद्द गर्न आफूले खेलेको भूमिकाको विषयमा चर्चा गरे। 

उनले कारोना महामारीलाई नियन्त्रणमा राख्न नसकेको विपक्षी पार्टीको आरोपको खण्डन गरें। उनले भने, ‘हामी भाइरसलाई पराजित गर्न लागेका छौं। मानिसको ज्यान बचाउने भ्याक्सिनको प्रयोग भइरहेको छ। यही वर्षको अन्त्यसम्म भ्याक्सिन तयार पार्नेछौं। कसैले पनि सोचेका थिएनन, यति छिटो भ्याक्सिन तयार हुन्छ भनेर। हामी भाइरसलाई हराउन सफल हुनेछौं र छिट्टै महामारीबाट बाहिर निस्किने छौं। हामी विज्ञान र डेटाको सहयोगले यसलाई नियन्त्रणमा ल्याउने प्रयासमा छौं।’

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा ४ सय ८२ किलोमिटर लामो पर्खाल लगाएको बताए। पहिले अमेरिकन फ्रि ट्रेड एग्रीमेन्ट (एनएएफटीए) लाई रद्द गर्न असम्भव मानिएको थियो। तर, आफूले त्यसलाई गलत सावित गरेको बताए। 

‘यस वर्ष मैले अमेरिका–मेक्सिको–क्यानडा बीचको सम्झौंतामा हस्ताक्षर गरें। अटो कम्पनी अब अमेरिकामा आफ्नो प्लान्ट स्थापना गरिरहेको छ। उनीहरू न अमेरिकी कर्मचारीलाई जागिरबाट निकालिरहेका छन् न देश छोडेर बाहिर गएका छन्। मैले गैरकानुनी रूपमा अमेरिका बसोबास गरिरहेका विदेशीहरूको विरूद्ध पनि कडा कार्यवाही गरें। मेक्सिकोसँग जोडिएको सीमामा ४८२ किमीको लामो पर्खाल लगाए। हरेक साता १६ किलोमिटर पर्खाल बनिरहेको छ’, ट्रम्पले भाषणमा आफ्नो पहिलो कार्यकालको काम बताए। 

उनले केनोसामा अश्वेत ज्याकब ब्लेकको समर्थनमा भइरहेको प्रदर्शनमा प्रहरीको बचाउ गरें। गत आइतार केनोसामा एक प्रहरीले ब्लेकलाई टाढमा सात गोल प्रहार गरेका थिए। उनले डेमोक्र्याटको शाषन रहेको केनोसा, मिनेपोलिस, पोर्टल्याण्ड, सिकागो र न्युयोर्कमा भइरहेको हिंसा, लुटपाट, आगजनी तथा दंगालाई केन्द्र सरकारले समर्थन नगर्ने बताए। ‘हामी यसको निन्दा गर्छो,’ उनले भने। 

ट्रम्पले भाषणको क्रममा आफ्नो भाई रोबर्टलाई पनि सम्झें। रोबर्टको गत साता निधन भएको थियो।

प्रकाशित मिति: : 2020-08-28 21:12:10

प्रतिकृया दिनुहोस्