प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणको लागि जिल्लाहरुमा उपलब्ध गराएको स्रोतसाधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ।
महामारी नियन्त्रणको लागि आवश्यक सल्लाह सुझाव लिन सिरहाको लहानमा आयोजित सिरहा र सप्तरीका सरोकारबालाहरुसँगको छलफलमा मुख्यमन्त्री लालबाबु राउतले उक्त निर्देशन दिएका हुन्।
‘महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्रीसहितका आवश्यक रकम समेत पठाइसकेको छ,’ उनले भने, ‘अगामी दिनमा समेत कुनै कमी हुन दिने छैन।’
उनले विगतमा पठाइएको रकमहरु जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेका कारण समस्याहरु उत्पन्न भएकाे बताउदै अगामी दिनमा योजना बनाएर काम गर्न आग्रह समेत गरे।
यस्तै उनले सबै जिल्लामा पीसीआर ल्याब सहितको अन्य सुविधाहरु एक महिना भित्रै परिपूर्ति हुने आश्वासन समेत दिएका छन्।
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना महामारी नियन्त्रणको लागि परीक्षण र उपचारका साथै जनचेतना फैलाउनुसमेत आवश्यक रहेको उल्लेख गरे।
‘यो महामारीको निदान उपचारले मात्र सम्भव छैन,’ उनले भने, ‘सबै नागरिकलाई सचेत हुनु आवश्यक छ। त्यसका लागि जनचेतना फैलाउनु पर्दछ।’
कार्यक्रममा पूर्वसंघीय स्वास्थ्य राज्यमन्त्री एवं विज्ञ समूहका सदस्य डा सुरेन्द्र यादवले कोरोना महामारीको उपचारलाई अनावश्यक जटिल बनाउन खोजिएको भन्दै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई अन्तराष्ट्रिय अभ्यासलाई दृष्टिगत गर्दै अघि बढन सुझाव दिए।
कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सशस्त्र प्रहरी एवं अनुसन्धानका डीआइजीहरु, नेपाल प्रहरी एवं नेपाली सेना प्रदेश कार्यालयका प्रतिनिधिहरु, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरु एवं स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो।
महामारी नियन्त्रणका लागि पर्सा, बारा, रौतहट र सर्लाहीका सरोकारबलाहरुसँग यसअघि नै सुझाव लिइ सकिएको छ भने धनुषा र महोत्तरीका सरोकारबालाहरुसँग मंगलवार सुझाव लिने कार्यक्रम रहेको छ।