प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
सोमबार नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको हो। उनको निधनपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले ट्वीट गर्दै दु:ख व्यक्त गरेका हुन्।
राष्ट्रपतिले लेखेकी छिन्, ‘भारतका पूर्वराष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुस्खद् निधनबाट मर्माहत भएको छु। नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’
यता प्रधानमन्त्री ओलीले पनि मुखर्जीको निधनले आफूलाई दुखित बनाएको बताएका छन्। ‘भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी बितेको समाचारले मलाई एकदम दुःखी बनाएको छ। सरकार र भारतीय नागरिक तथा शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक संवेदना प्रकट गर्न चाहन्छु,’ उनले लेखेका छन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले उनको निधनबाट नेपालले एक असल मित्र गुमाएको समेत बताएका छन्।
पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको खबर उनका छोरा अभिजितले आफ्नो ट्वीटरमार्फत जानकारी गराएका थिए।
आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको यसअघि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।
पूर्वराष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।
अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो।
भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।