डा. गोविन्द केसी र मैलो मनको उपचार

हिमाल खबर

काठमाडौँ

मिलन बगाले
सर्वसाधारणले सहज उपचार पाउनुपर्छ भन्ने डा. गोविन्द केसीको अडान दुर्गमको स्वयसेवी यात्रामार्फत प्रकट हुन्छ। पिढी र अगेनाको छेउमा निशुल्क चल्ने ‘निजी क्लिनिक’ मार्फत प्रकट हुन्छ। आमरण अनशनमार्फत पनि प्रकट हुन्छ।

तर, डा. केसीको निष्ठा राज्यका लागि आतंक समान भएको छ। विकट गाउँहरुमा स्वयसेवी बनेर पुगेका उनलाई बारम्बार अपमानित गरिएको नमिठो खबरले पत्रपत्रिका र डिजिटल पत्रिकाहरु भरिएका छन्। विभिन्न शक्तिकेन्द्रको आदेश र दबावमा स्थानीय जनप्रतिनिधिले नै उनलाई निषेध गरेको खबर आईरहेको छ।

यसरी अवरोध गरिँदा उनको चित्तमा चोट त लागेको छ नै, दूरदराजका नागरिकहरु अकल्पनीय रुपमा पाइन लागेको विशेषज्ञ सेवाबाट पनि बञ्चित भएका छन्। राज्यले उपलब्ध गराउनुपर्ने सेवाबाट बञ्चित नागरिक खोज्न हिड्ने डाक्टरलाई रोक्नु अमानवीय र अराजक काम हो।

जुम्लामा होटलमै घेराबन्दी गरिएको खबरले देशमा अराजकताको विकेन्द्रीकरण भएको महसुस हुन्छ। उनलाई रोकेर बहादुरी देखाउने र माथी रिपोर्ट बुझाएर स्याबासी बटुल्ने अराजक खेल शुरु भएको महसुस हुन्छ।

डा. केसीले कयौं ठाउँमा नागरिक र जनप्रतिनिधिको न्यानो माया पाएका छन्। धेरैको सफल उपचार गरेका छन्। तर, अहिले कयौं दिन हिँडेर दुर्गममा उपचार गर्न रोकिएको खबर यो समयको सबैभन्दा कुरुप चित्र हो। जता डाक्टर, उता अवरोधको खबर कोरोनाभाइरसको चित्रमा देखाइएको काँडाजस्तै महसुस हुन्छ।
 

प्रकाशित मिति: : 2020-09-02 06:50:21

प्रतिकृया दिनुहोस्