मेसी सिटीमा आवद्ध भए घण्टाको आम्दानी २२ लाखभन्दा बढी हुने

बिएल संवाददाता

क्याम्प नोउ

बार्सिलोनाका कप्तान लिओनल मेसी क्लब छोडेका छन्। उनले गत साता फ्याक्स गरेर आफूले क्लब छोडेको जानकारी दिएका थिए। 

उनले आफैलाई फ्रि–एजेन्ट मानेका छन् भने बार्सिलोनाको कोरोना परीक्षण र ट्रेनिङमा उनी सहभागी नभएपछि यसको जानकारी बाहिरिएको हो। 

युरोपेली मिडियाको रिपोर्टअनुसार मेसी इंग्लिस क्लब म्यानचेस्टर सिटीमा ५ वर्षका लागि अनुबन्धित हुन लागेको हुन। उनीसँग सिटीले ७०० मिलियन युरोमा अनुबन्ध रकम तय गरेको छ। मेसीले हरेक घण्टा २२ लाख ४० हजारको दरले पैसा पाउने छन्। 

नयाँ रिपोर्टअनुसार मेसी तीन वर्ष म्यानचेस्टर सिटीमा आवद्ध हुनेछन् भने दुई सिजन सिटी फुटबल समूहअन्तर्गत न्युयोर्क सिटीमा रहेर फुटबल खेल्ने छन्। यो क्लब अमेरिकाको मेजर लीग सकर (एमएलएस) मा खेल्ने गर्छ। 

यसका लागि मेसीका बुवा तथा उनका एजेन्ट जर्ज मेसी बार्सिलोना पुगिसकेको मिडिया रिपोर्टमा बताइएको छ। उनले क्लब अध्यक्ष जोसेफ बार्टेमेउ र अन्य पदाधिकारीसँग कुरा गर्दैछन्। विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा जर्जले भने, ‘मलाई सबै कुरा थाहा छैन।’

मेसीको उपस्थितिमा बार्सिलोनाले ४ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने १० पल्ट ला लिगाको। उनको उपस्थितिमा बार्सिलोनाले ३४ उपाधि जितेको थियो। 

३० जुनमा उनी ७ सय गोल पुरा गर्ने विश्वको सातौं खेलाडी बनेका थिए। यसमा उनले क्लबका लागि ६ सय ३० र देशका लागि ७० गोल गरका छन्। सबैभन्दा बढी गोल गर्ने कीर्तिमान अस्ट्रियाका जोसेफ बिकनको नाममा छ। उनले ८ सय ५ गोल गरेका छन्। 

मेसी विश्व फुटबलको महंगो फुटबल खेलाडी हुन्। उनले गत वर्ष रोनाल्डोको तुलनामा बढी रकम कमाएका थिए। मेसीको कमाईं १ सय २० मिलियन पाउण्ड छ।

प्रकाशित मिति: : 2020-09-03 11:40:36

प्रतिकृया दिनुहोस्