नेकपा (मसाल)ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिराबाट पीडितको उद्धार र सहयोगका लागि अनुरोध गरेको छ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार विज्ञप्ति जारी गरी बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गरेका हुन्।
बुधबार रातिको बाढीपहिराले ढोरपाटन नगरपालिका ९ बोबाङमा हालसम्म १४ जनाकाे शव भेटिएकाे छ।
जसमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विककाे सनाखत भएकाे छ। १० शवको अझै सनाखत हुन सकेकाे छैन।
केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो। स्थानीयले ३५ जना बेपत्ता भएको बताएका छन्। कतिपयको घरमा पाहुनाहरु पनि आएकाले बेपत्ता भएकाहरुको संख्या एकिन भएको छैन।