अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार दिउँसो ४ बजे राजीनामा दिने भएका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा उनले दिउँसो ४ बजे राजीनामा दिने बताएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
उनले आफूलाई अर्थ मन्त्रालयको जिम्मा दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका थिए। उनले सरकारबाहिर रहेर पनि आफूले सहयोग गर्ने बताएका छन्।
अर्थमन्त्री खतिवडाले पदावधि सकिनुभन्दा एक दिन अघि राजीनामा दिन लागेका हुन्। अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो।
संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन पाउँदैन। खतिवडाको ६ महिने कार्यकाल शनिबारदेखि सकिँदैछ।
बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई अहिलेसम्मको जिम्मेवारीका लागि धन्यवाद दिएका थिए।
राजीनामापछि अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने तयारी छ ।
आजकै मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने छ ।
प्रधानमन्त्री ओलीले तत्काल अर्थमन्त्री मात्र नियुक्त नगरी अन्य मन्त्रीहरुसहित मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसैले नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्री हुन केही दिन अझै कुर्नुपर्ने छ ।
विवाद समाधान कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरी ‘गुट–समावेशी’ बनाउने तयारी गरेका छन् । अझै केही दिन गृहकार्य गरी संभवत आगामी साता प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।
उपाध्यक्ष वामदेव गौतम चाहिँ संविधानले मन्त्री बन्नका लागि निषेध गरेकाले राष्ट्रियसभा सदस्य मात्र रहने छन् । उनी केही दिनपछि हुने मन्त्रिमण्डल हेरफेरमा मन्त्री बन्ने छैनन् । नयाँ संविधानले प्रतिनिधिसभा निर्वाचन पराजित व्यक्तिलाई उक्त प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री बन्न निषेध गरेको छ ।
प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई अर्थमन्त्री नियुक्त गर्न चाहेका छन् । केही मन्त्रीले दुई मन्त्रालय सम्हालिरहेको अवस्थामा अर्थमन्त्री मात्र नियुक्त गर्नु उचित नदेखिने भएकाले पौडेलले केही दिन कुर्नुपर्ने भएको छ ।
राष्ट्रिय सभा सदस्यको दुई वर्षे पदावधि सकिएपछि अर्थमन्त्री खतिवडा फागुन २१ गते पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए, जसको छ महिने कार्यकाल भोलि समाप्त हुँदैछ । उनले एक दिनअघि आजै राजीनामा दिन लागेका हुन् ।
नेकपा सचिवालयको बिहीबारको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेपछि खतिवडाको राष्ट्रियसभा सदस्य हुने संभावना समाप्त भएको थियो ।
संघीय संसद् सदस्य नरहेको व्यक्ति प्रतिनिधिसभाको कार्यकालभित्र एक पटक मात्र छ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रियसभामा लैजान नसकेका कारण ओलीले चाहेर पनि खतिवडालाई मन्त्रीमा निरन्तरता दिन नसकेका हुन् ।