अर्थमन्त्री युवराज खतिवडाले आफ्नो कार्यकालमा आर्थिक प्रणालीमा सुधारका काम अघि बढेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुअघि मन्त्रालयमा खतिवडाले राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि काम अघि बढाइएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।
अर्थ मन्त्रालयका दुवै सचिव, महालेखा नियन्त्रक, महाशाखा प्रुमखहरू र कर तथा भन्सारका महानिर्देशकलाई बोलाएर मन्त्री खतिवडाले आफ्नो कार्यकालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखापरीक्षण ऐनजस्ता महत्वपूर्ण कानुन बनाइएको भन्दै त्यसले प्रणाली सुधारमा जग बसालेको बताए।
वर्षौंदेखि विवादमा रहेको मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था हटाइएको, भन्सारमा आशिकुडा प्रणाली विस्तार गर्दै लगिएको, भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ल्याइएको भन्दै मन्त्री खतिवडाले यसबाट प्रणाली र कार्यगत दुवै सुधारका लागि बलियो आधार भएको स्पष्ट पारे।
२०७४ साल फागुनमा पहिलोपटक अर्थमन्त्री नियुक्त भएका खतिवडाले २०७६ फागुन २१ गते दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका थिए। तर राष्ट्रिय सभा सदस्यमा उनको स्थानमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने नेकपाको निर्णयसँगै खतिवडा मन्त्रीबाट हटाइने भएका हुन्।
उनले आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफ्नो राजीनामा बुझाउँदैछन्।
यसअघि उनले आजै शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकमा आफूले राजीनामा दिने जानकारी गराएका थिए।