एक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार

रासस

दैलेख 

कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जारकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै स्थान अन्धकार हुनाले उपभोक्ताले वर्षेनी समस्या भोग्नु परको छ ।  

विद्युत् लाइन विस्तार गरिएको कतिपय स्थानमा पुराना र जीर्ण पोल भएकाले सामान्य हावा हुरी आउँदा वा रुखका हाँगाले छुँदा पनि विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रशारण लाइनमा रुखका साना हाँगाबिँगाले पोलमा बारम्बार क्षति पुग्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टङ्कराज गिरीले जानकारी दिए । मर्मत गर्न पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण धेरैजसो मर्मतमा ढिलाइ हुने गरेको गिरीको गुनासो छ । 

तीन जिल्लाको विद्युत् समस्या समाधानका लागि दैलेखको चुप्रामा १३२ केभिए प्रसारण लाइनको विस्तार गर्ने केन्द्र सरकारको योजना भने शुरु हुन सकेको छैन् । जग्गा खोजी गर्ने, लाइन विस्तार गर्नेलगायतका कामको लागि गत वर्षबाटै शुरुआत गरिएको भएपनि अहिलेसम्म कुनै पनि काम हुन नसकेको हो । 

सरकारले कोहलपुर–सुर्खेत प्रशारण लाइनको क्षमता विस्तार प्रक्रियाअघि बढाएको सात वर्ष बितेको छ । विसं २०४५ मा विस्तार गरिएको विद्युत्को पुरानो संरचना र क्षमता अहिलेको मागअनुसार पर्याप्त नहुँदा नागरिकले सास्ती झेल्नु परेको छ । 
 

प्रकाशित मिति: : 2020-09-06 14:41:02

प्रतिकृया दिनुहोस्