बैतडीका दुई महीने शिशु शिवांस अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ हालै सार्वजनिक गरिएको छ ।
संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’ मा गायक निशान भट्टराईले स्वर दिएका छन् । जन्मिएको १४ औं दिनदेखि विरामी परेका शिवांसलाई महेशले दक्षिण भारतको चेन्नईस्थित डा रेला अस्पतालमा पुगेर कलेजो दान गरेका गरेका थिए ।
नेपालमा एक महीनासम्म आईसीयूमा राखेर उपचार गर्दा पनि रोग निराकरण नहुँदा मध्ययमवर्गीय महेशले भारत पुगेर रू. १ करोडभन्दा बढी खर्चेर छोरालाई बचाएका थिए ।
महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफुलाई गीत लेख्न उद्धेलित बनाएको संगीतकार कमलाले बताइन् । उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई मार्मिक ढंगले चित्रण गर्न खोजेका छौं ।’
नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए ।
उनले भने, ‘स्टुडियोमा उक्त गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ । शव्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा लिएको छु ।’
मर्मस्पर्शी गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतवाट आउने सम्पूर्ण रोयल्टी शिवांसको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले बताएका छन् ।
गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो । त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर नि ः शुल्क रुपमा यो भिडियो तयार परेका हौं ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएको छ ।
लकडाउनअघि श्रीमति र उपचाररत छोरालाई अस्पतालमै छोडेर घरव्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्किन पाएका छ्रैनन् ।