मनमौजी सपनाहरूको दस्तावेज

हिमाल खबर

काठमाडौँ

विनय शेखर
नौला शब्द, अनौठा नाम र नवीनतम शैलीका काम सुन्दा, पढ्दा, देख्दा आँखाहरू अनायासै लोभिन्छन्। डुमेरो शब्दमा परेका आँखा पनि यसैगरी लोभिए। डुमेरो पुस्तक पढेको थिइनँ तर अर्थ जान्ने हुटहुटी कम भएन। 

कसलाई सोध्नु डुमेरो भनेको के हो भनेर ? हालसालै मोबाइल एपमा पनि उपलब्ध नेपाली बृहत् शब्दकोश मा हेरें। डुमेरो त्यहाँ पनि भेटिएन। 

काठमाडौं उपत्यकामा प्रायः म कहिले चक्रपथको फन्को लगाउँछु, कहिले काँठका फाँटको धूलो सुँघ्दै साइकल खियाउँछु। वागमती, विष्णुमती, धोबीखोला र नक्खु किनारमा भर्खरै बन्न थालेका चिल्ला र धुलाम्य दुवैखाले लिंकरोडमा बरालिने मेरो साइकलका निर्जीव पाङ्ग्राहरूलाई कसरी महसूस हुनसक्ला र डुमेरोको अर्थ। अहँ, कसैगरी थाहा थिएन।

‘लक्डाउन’ले मेरो दैनिकी घर–अफिसमा सीमित थियो। 

तर शनिबार भयो कि, थोरै फुर्सद भयो कि, कसैले हिंडौं कि भनेर उक्सायो कि पैताला चिलाउन थालिहाल्छन्। पैताला चिलायो कि म आमा सम्झन पुग्छु। आरामले खुरुक्क घरै नबसी लखरलखर हिंडेर आफ्नो ज्यानलाई कति दुःख दिन मन लाग्दो हो भन्ने श्रीमतीलाई पुलुक्क हेर्छु। हड्डी खिइन थाल्यो, ‘लिगामेन्ट’ च्यातिएको छ, उकाली ओराली नहिंड्नु, साइकल त चलाउँदै नचलाउनु भन्ने डाक्टरको सल्लाह कानमा गुञ्जिन्छ।
 

प्रकाशित मिति: : 2020-09-12 13:24:55

प्रतिकृया दिनुहोस्