यातायात श्रमिकहरू संकटमा, ‘सरकारले हामीलाई जनता मानेन’

आयोमेल

काठमाडौँ

माेहन जाेशी

दिनभरि काम गरेर साँझ–बिहानको छाक टार्ने यातायात श्रमिक ६ महिनादेखि बेरोजगार भएका छन्। 

धेरै श्रमिक बिहान–बेलुकाको छाक टार्न नसक्दा संकटमा परेका छन्। यातायात व्यवसायीलाई सरकारले मौद्रिक नीतिमार्फत समेटेको भए पनि श्रमिकलाई समेट्ने कुनै योजना सरकारसँग छैन। 

तर कोरोना भाइरसको संक्रमण रोगथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनपछि ६ महिना घरमै बस्न बाध्य यातायात मजदुर भने अहिले निकै समस्यामा पर्न थालेका छन्। 

दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका श्रमिक ६ महिनासम्म बेरोजगार हुँदा परिवार कसरी पाल्ने भन्ने चिन्ताले मानसिक समस्यामा पर्न थालेका छन्।

सरकारले यातायात व्यवसायीलाई मौद्रिक नीतिमार्फत थोरै भए पनि संरक्षण गरेको बताउने श्रमिकले आफ्ना लागि भने सरकार नै नभएको आभाष हुन थालेको बताउन थालेका छन्। 

‘हाम्रा लागि यो देशमा सरकार नै रहेन छ,’ यातायात श्रमिक मिलन विष्टले भने, ‘हुनेका लागि सरकार रहेछ भन्ने प्रष्ट भएको छ।’ दैनिक मजदुरी गरेर परिवार पाल्ने आफूहरुको अवस्था दयनीय बन्दै गएको उनको भनाइ छ। ‘छोराछोरी पढाउन सहरमा कोठा भाडामा लिएर बसेका हामीहरु यतिबेला भोकमरीको सिकार बन्न थालेका छौं,’ उनले भने, ‘हाम्रा लागि सरकार थियो भने यस्तो अवस्था आउने थिएन होला।’

प्रकाशित मिति: : 2020-09-13 09:54:02

प्रतिकृया दिनुहोस्