करणीका घटनामा अधिकांश छिमेकी र आफन्त नै संलग्न

जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । 

रोल्पामा आएका करणीका उजूरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेको पाइएको हो । गत आर्थिक वर्षमा जिल्लामा भएका १४ जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी  र चिनेजानेकाबाट भएको देखिएको हो । 

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका १४ जबर्जस्ती करणीका उजूरीमध्ये ९ वटामा छिमेकी संलग्न भएको पाइएको छ । 

यसैगरी  दाजुले बहिनीलाई, एउटा फुपाजूले भदैलाई, काकाले भतिजीलाई, छोराले आमालाई  र अलिक टाढाको आफन्तले जबर्जस्ती गरेको घटना देखिएको छ ।

चिनेजानेका व्यक्तिले करणी गर्दा पीडितलाई किटानी उजूरी दिन र प्रहरीलाई दोषी पक्राउ गर्न सहज हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शङ्कर खड्काले बताए। यस्ता घटनामा संलग्न  भएको उजूरी पर्नासाथ प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको जनाइएको छ । 

चिनेजानेकाबाटै करणी भएका घटनामा निर्दोष फस्ने सम्भावना कम हुने उनले बताए । आफन्त र चिनेजानेकाबाट हुने करणीका कारण धेरै घटना गाउँघरमै मिलापत्रमा टुङ्ग्याउने गरेको पनि पाइएको छ । 

क्षमा दिन नमिल्ने र लुकाउनै नमिल्ने भएपछि मात्रै पीडित न्यायका लागि अड्डाअदालत धाउने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताए । 

कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण अघिल्लो वर्ष महिला हिंसाका अधिकांश घटना बढ्ने क्रममा जबर्जस्ती करणीका घटनासमेत बढेको देखिन्छ । 

लकडाउनले सामाजिक सचेतीकरणका कार्यक्रम गर्न नपाउँदा पनि अघिल्लो वर्ष महिला हिंसाका घटना अलिक बढी देखिएको जिल्ला प्रहरी  प्रवक्ता खड्काले बताए । 

अवस्था सहज हुनेबित्तिकै समुदाय तथा विद्यालयमा सचेतीकरणका कार्यक्रम लैजाने  योजना बनाइएको समेत उनले बताए । रासस

प्रकाशित मिति: : 2020-09-13 17:11:44

प्रतिकृया दिनुहोस्