कुकुरले चितुवा मारेपछि....

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ ।  गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । 

अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुग्नुभएका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिए । 

जङ्गल नजीकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने सहायक वन अधिकृत नेपालीले जानकारी दिए । 

४ वयस्क कुकुर मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उनले जानकारी दिए । 

 स्थानीयवासीले राति नै थाहा पाएपछि घटनास्थलमा पुग्दा चितुवा मरेको देखेर वन कार्यालयमा जानकारी गराएका थिए । 

वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब डिभिजन वन कार्यालय घ्याम्पेसाल परिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत नेपालीले जानकारी दिए । रासस 

प्रकाशित मिति: : 2020-09-13 17:12:59

प्रतिकृया दिनुहोस्