अर्बपति ब्लुमबर्गले गरे बाइडेनको चुनावी अभियानलाई १० करोड डलर दिने घोषणा

अर्बपति माइकल ब्लुमबर्गले जो बाइडेनको फ्लोरिडा चुनावी अभियानका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। 

आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक बाइडेनको फ्लोरिडा चुनावी अभियानका लागि अर्बपति ब्लुमबर्गले १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन्।

 ब्लुमबर्गले आफू नै राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका बेला यो वर्ष एक अर्ब अमेरिकी डलर खर्च गरिसकेका छन्।

राष्ट्रपति चुनावमा फ्लोरिडालाई ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा लिइन्छ, जहाँ धेरै इलेक्टोर्ल कलेज छन्।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोर्ल कलेज मध्ये फ्लोरिडामा २९ इलेक्टोर्ल कलेज मतदाता छन्। त्यो भन्दा बढी क्यालिफोर्नियामा ५५ र टेक्सासमा ३८ इलेक्टोर्ल कलेज मतदाता रहेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानका व्यक्तिगत रकम खर्च गर्ने संकेत घाेषणा गरिसकेका छन्। सन् २०१९ देखि सुरु भएको चुनावी अभियानअन्तर्गत जुलाई महिनासम्म ट्रम्पसँग ११ अर्ब डलरको ‘फण्ड’ थियो। अहिले ८० करोड खर्च भइसकेको छ। 

फ्लोरिडामा अग्रिम मतदान गर्न चाहनेले सेप्टेम्बर २४ देखि नै आफ्नो मत हुलाक मार्फत पठाउन सक्ने छन्।

कोरोना भाइरस महामारीका कारण यो वर्षको चुनावमा हुलाक मार्फत मतदान गर्नेको संख्या अत्याधिक हुने सम्भावना छ। 

दुवै उम्मेदवारले हुलाक मार्फत चाँडै नै मत दिने मतदातालाई आकर्षित गर्न प्रयास गरिरहेका छन्। 

सन् २०१६ मा फ्लोरिडामा ट्रम्प विजयी भएका थिए, त्यसअघि २०१२ मा बाराक ओबामा विजयी भएका थिए।

प्रकाशित मिति: : 2020-09-14 07:25:23

प्रतिकृया दिनुहोस्