अमेरिकी जनताको राष्ट्रपति ट्रम्पलाई प्रश्नः कति पूरा भयो हामीसँग गरेको वाचा?

अमेरिकामा राष्ट्रपतीय चुनावको मिति नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चौतर्फी हमला सुरु भएको छ। पहिले ‘काला जाति’ सँग असहिष्णु भएको, कोरोना भाइरसलाई नियन्त्रण गर्न नसकेको जस्ता कुरामा विपक्षीले घेर्ने गर्थे अब उनीमाथि सन् २०१६ मा चुनाव लड्दा जनतामाझ घोषणा गरेको लक्ष्य पुरा गर्न नसकेको आरोप पनि लागेको छ। 

‘अमेरिका पहिलो’ को नारा बोकेर सन् २०१६ को चुनाव जितेका ट्रम्पले आफ्ना जनतासँग थुप्रै वाचा गरेका थिए। उनले छिमेकी मेक्सिकोमा पर्खाल लगाउने प्रतिज्ञा त पुरा गरें। तर, जनतासँग वाचा गरेको २ सय ८० वटा काममध्ये अधिकांश पुरा नभएको दावी गर्न थालिएको छ। 

ट्रम्प दोस्रो कार्यकालका लागि पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार छन्। पहिलो कार्यकालमा उनले जनतासँग गरेको १५ वटा मुख्य प्रतिज्ञामध्ये कति पूरा भयो र कति भएन? यो बुझ्ने प्रयास गरौं। यसले राष्ट्रपति ट्रम्पले पहिलो चुनावअगाडि गरेको वाचा बुझ्न सहयोग गर्नेछ।  

१. १६ जुन २०१५ः देशको दक्षिणी सीमामा ठूलो पर्खाल बनाउँछु। पर्खाल बनाउन मेक्सिकोले पैसा चुक्ता गर्नेछ। 

ट्रम्पको यो घोषित नीति अहिले पुरा हुने अवस्थामा छ। तर, उनले भने जस्तै पर्खाल लगाउन मेक्सिकोले एक पैसा पनि खर्च गरेन। उल्टै अमेरिकी जनताको करबाट ३ करोड डलर खर्च भयो। ट्रम्पको कार्यकालमा ३ हजार १ सय ७४ किलोमिटरको सीमामा ४ सय ९१ किलोमिटर मात्र पर्खाल निर्माण भएको छ। कति ठाउँमा त पहिलेदेखि नै पर्खाल बनेको थियो। 

२. २९ जुलाई २०१५ः हामी गैर–अप्रवासीको खोजी गर्नेछौं र उनीहरूलाई अमेरिकाबाट लखेट्ने छौं।

ट्रम्पले तीन वर्षमा लगभग ७ लाख ५० हजार गैर–अप्रवासीलाई फिर्ता पठाएका छन्। तर, यसमा लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका व्यक्ति नभएर अमेरिका प्रवेश गर्ने प्रयास गरिरहेका विदेशी नागरिक थिए।

अमेरिकामा लामो समयदेखि बसोबास गरिरहेका गैर–अप्रवासीलाई उनले निकालेनन्। मात्र डरको वातावरण सिर्जना गरे। उनले अप्रवासीलाई उनीहरूको केटाकेटीसँग छुट्टयाएर राख्न भने सफल भए। यसले अप्रवासीको संख्यामा केही कटौति देखिएको छ। 

बाराक ओबामाको कार्यकालमा जति अप्रवासीलाई देशबाट निकालियो, त्यति ट्रम्पको कार्यकालमा भएन। 

३. २१ जुलाई २०१६ः कानुनी व्यवस्था कडाईंका साथ लागु गरिनेछ, अपराध र हिंसालाई तुरुन्त समाप्त गरिनेछ। २० जनवरी २०१७ सम्म सुरक्षा व्यवस्था लागु हुनेछ।  

ट्रम्पले आफै स्विकार गरेका छन्, उनी कानुनी–व्यवस्था स्थिर राख्न असफल भए। २७ अगस्ट २०२० मा उनले भने– सडकमा हिंसा र खतरा छ। 
४. २१ जुलाई २०१६ः ओबामा केयर समाप्त गरिनेछ। यसको सट्टा दोस्रो योजना कार्यान्वयन हुनेछ। 

तर, ट्रम्पले ओबामाको ‘हेल्थ केयर’ कार्यक्रमलाई समाप्त गर्न सकेनन्। यसलाई परिवर्तन गर्न उनी कानुनी दाउपेचमा फसेका छन्। उनले ओबामाको ‘हेल्थ केयर’ को प्रतिस्थापनमा कुन योजना कार्यान्वयनमा ल्याउँदै थिए, त्यसको जानकारी अहिलेसम्म दिएका छैनन्। 

५. १६ जुन, २०१५ः सबैभन्दा बढी जागिर दिने राष्ट्रपति बन्ने छु। 

ट्रम्प राष्ट्रपति नियुक्त भएको पहिलो वर्ष ओमाबाको कार्यकालमा जति नै मानिसले जागिर पाए। तर, कोरोनाका कारण सबै समाप्त भएको छ। ट्रम्पले पदभार सम्हालेपछि अहिलेसम्म ५० लाख मानिस बेरोजगार भएका छन्। यो कुनै पनि राष्ट्रपतिको अहिलेसम्मको खराब रेकर्ड हो। 

६. २० मार्च २०१६ः न्यायधीस नियुक्ति गर्छु।

ट्रम्प आफ्नो कार्यकालमा न्यायाधीस नियुक्ति गर्न सफल भए। यो उनको सफलता मानिन्छ। तर, यसमा उनलाई संसदमा मेजोरिटी नेता मिच म्याककोनेलले सबैभन्दा बढी सहयोग गरें। ओबामाको कार्यकालमा म्याककोनेलले नै न्यायाधीस नियुक्तिमा रोक लगाएका थिए। 

७. २१ जुलाई २०१६ः अमेरिकी नागरिकको सम्मान सत्यताको आधारमा हुनेछ।

तर, वासिङ्टन पोस्टका अनुसार ट्रम्पले अहिलेसम्म २० हजार पल्ट भ्रामक तथा तथ्यहीन कुरा गरेका छन्। उनी झुट बोल्न माहिर देखिए। 

८. २१ जुलाई २०१६ः रोड, हाईवे, ब्रिज, टनेल, एयरपोर्ट र भविष्यको रेल बनाउने। 

तर, ट्रम्पले कहिल्यै विकाससम्बन्धि कानुन संसदमा प्रस्तुत गर्ने प्रयास गरेनन्। 

९. ३१ मार्च २०१६ः कर्जाबाट अमेरिकी जनतालाई माफी दिने।

ट्रम्पकै कार्यकालमा अमेरिकी जनताको कर्जा बढेको छ। अब यो अमेरिकी अर्थतन्त्रभन्दा ठूलो हुँदैछ। सन् १९४६ पछि देशमा सबैभन्दा बढी कर्जा प्रभावित हुँदैछ।  

१०. १५ अक्टुबर २०१६ः व्यापार घाटा समाप्त गरिनेछ। 

ट्रम्पको कार्यकालमा अमेरिकाको व्यापार घाटा ओबामाको पालामा भन्दा बढेको छ। 

११. २१ जुलाई २०१६ः सेनालाई फेरि बलियो बनाइने छ, पूर्व सैनिकलाई देशले हेर्छ। 

ट्रम्पले सैन्य बजेट त बढाए तर उनले यसको प्रयोग मेक्सिको सीमा नजिकै पर्खाल बनाउन प्रयोग गरे। ओबामाको एउटा कार्यक्रमको विस्तार गरे, जसमा पूर्व सैनिकलाई निजी अस्पतालमा निःशुल्क उपचार गराउने योजना थियो। तर, उनीमाथि विश्व युद्धमा मारिएका अमेरिकी सैनिकको फ्रान्समा बेइज्जती गरेको आरोप लागेको छ।

१२. २१ जुलाई २०१६ः आइएसआइएसलाई समाप्त गर्ने। 

आतंकवादी संगठन आइएसआइएसविरूद्ध सैन्य कार्यवाही ओमाबाको कार्यकालमै सुरु भइसकेको थियो। ट्रम्पको कार्यकालमा ठूलो संख्यामा आतंकवादीको विनाश भयो। तर, अझैं आइएसआइएसका सबै गतिविधि समाप्त भइसकेका छैनन्।  

१३. ३ मे २०१७ः इजरायल र प्यालेस्टिनबीच शान्ती कायम गर्ने चाहना। 


इजरायल र प्यालेस्टिनबीच पहिले जस्तै कटुतापूर्ण सम्बन्ध कायम छ। तर, इजरायलको अन्य अरब देशसँगको सम्बन्ध राम्रो हुँदै गइरहेको छ। हालै मात्र इजरायल र युनाईटेड अरब इमिरेट्स (युएई) बीच ऐतिहासिक सम्झौंता भएको थियो। 

१४. १६ जुन २०१५ः कुनै देशले हाम्रो आन्तरिक विषयमा हस्तक्षेंप गर्न सक्दैन। 

तर, रुसले २०१६ को अमेरिकी चुनावमा हस्तक्षेंप गर्यो। आउँदो चुनावमा पनि रुस प्रभावित पार्ने योजनामा छ। रुसले सिरियामा अमेरिकी सैनिकलाई घाइते तुल्यायो। अफगानिस्तामा अमेरिकी सैनिकलाई मार्न रुसले नै पैसा उपलब्ध गरायो। 

१५. ४ फेब्रुअरी २०२०ः पहिलेका राष्ट्रपति आफूले बोलेको कुरा पुरा गर्देन्थे, म पुरा गर्छु। 

ट्रम्पले जति नै ठूलो दावी गरेपनि उनको भनाईमा त्यति सत्यता भेटाउन सकिएको छैन। अधिकांश अमेरिकीमा ट्रम्प झुटो बोल्न माहिर रहेको प्रभाव परिसकेको छ। 

प्रकाशित मिति: : 2020-09-14 08:09:32

प्रतिकृया दिनुहोस्