म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेको आरोपमा पक्राउ परेका ९ जनामध्ये ८ जना रिहा भएका छन् भने एक जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार पुपर्क्षका लागि जेल चलान हुनेमा झण्डा जलाउनेका मुख्य नाइके ग्याल्जेन दोर्जे तामाङ छन्। बाँकी ८ जना धरौटीमा रिहा भएको उनले जानकारी दिए।उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले पक्राउ परेर मुद्दा चलाएको थियो।
उक्त म्युजिक भिडियो मकवानपुरको बागमती गाउँपालिकामा सुटिङ गरेको पाइएको प्रहरीले जनाएको छ।
म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएकोदेखि जातीय द्वेष फैलाउने किसिमका दृश्य र शब्द छन्। भदौ १ गते मंगोल होप अफिसय युट्युब च्यानलबाट नेपाली राष्ट्रिय झण्डा जलाएको भिडियो अपलोड गरिएको थियो। त्यसपछि उक्त कार्यको चौतर्फी विरोध भएको थियो।
मुलुकी अपराध संहिता २०७४ ले राष्ट्रिय झण्डा जलाउन नपाइने उल्लेख गरेको छ।