सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

रासस

तम्घास
सांकेतिक तस्बिर

गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ। तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको देखाएको हो। 

आव २०७४/७५, ०७५/७६ र ०७६/७७ मा  कूल दुई हजार ४४३ जनाले सुरक्षित गर्भपतन गराएका छन्। तीमध्ये १९६ जना २० वर्षभन्दा कम उमेरका छन् भने दुई हजार २४७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन्। स्वास्थ्य कार्यालयका अनुसार आव ०७४/७५ मा जिल्लामा कूल ६६७ जनाले सुरक्षित गर्भपतन गराए। तीमध्ये १८ जना २० वर्षभन्दा कम उमेरका र ६४९ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन्। ०७५/७६ मा जिल्लामा कूल ८१५ जनाले गर्भपतन गराएका छन्। तीमध्ये ७८ जना २० वर्षभन्दा कम उमेरका र ७३७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन्। 

आव ०७६/७७ मा कूल ९५१ जनाले गर्भपतन गराएका छन्। तीमध्ये २० वर्षभन्दा कम उमेरका १०० जना र २० वर्षभन्दा बढी उमेरका ८५१ जना रहेका छन्। चालू आवको साउन महिनामा मात्रै जिल्लामा ३० जनाले सुरक्षित गर्भपतन गराएको  कार्यालय  फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए। जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन्। तीमध्ये सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकाका महिला रहेका छन्। तीन आर्थिक बर्षमा नरपालिकाका एक हजार २६७ जनाले गर्भपतन गराएका छन्। ती मध्ये १२४ जना २० बर्षभन्दा कम उमेरका र एक हजार १४३ जना २० वर्षभन्दा बढी उमेरका रहेको उनले जानकारी दिए।  तीन आवमा पनि इस्मा गाउँपालिकाका महिलाले गर्भपतन गराएका छैनन्।

तम्घास अस्पतालका डा सुष्मा थपलियाले सुरक्षित गर्भपतन पनि शारीरिक हिसाबले हानिकारक भएको जानकारी दिइन्। गर्भपतन गराउँदा रगत धेरै जान सक्ने, सफा गर्दा पाठेघरमा गम्भीर प्रकारको असर हुनसक्ने, आन्द्रामा चोट लाग्नेलगायतको समस्या देखिने उनले बताइन्। त्यस्तै एकपटक गर्भपतन गराइसकेपछि लामो समयसम्म बच्चा नरहने सम्भावना पनि भएकाले सकेसम्म गर्भपतन नगराउन उनले सुझाव दिइन्। 


 

प्रकाशित मिति: : 2020-09-15 15:01:01

प्रतिकृया दिनुहोस्