मियाजावापछि सबैभन्दा बढी उमेरका जापानी प्रधानमन्त्री बने सुगा

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) का नेता  योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित छन्।  बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पद सुरक्षित गरेका हुन्।

गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुनिएको हो। आबेको राजीनामापछि बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीमा उनीनिकट नेता मानिने सुगा नै निर्वाचित हुने अपेक्षा गरिएको थियो।
 
यसअघि गत सोमबार एलडीपीले उनलाई आफ्नो नेता चयन गरेको थियो। यससँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो।

सुगाले ४ सय ६५ सदस्य रहेको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा ३ सय १४ मत प्राप्त गरे भने २ सय ४५ सदस्य रहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) मा १ सय ४२ मत प्राप्त गरेको जापानी समाचार संस्था क्योदोले जनाएको छ।

सुगाले आज साँझ जापानका सम्राटसँग शपथ ग्रहण गरेपछि औपचारिक रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।

७१ वर्षीय सुगा सन् १९९१ मा किची मियाजावापछि सबैभन्दा बढी उमेरका जापानी प्रधानमन्त्री भएका छन्।

बुधबार नै सिन्जो आबेले अन्तिम मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफ्नो कार्यकालमा हासिल भएको उपलब्धिबाट आफू गौरवान्वित भएको बताएका थिए।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो। सन् २०२१ को अक्टोबर २१ भन्दा अघि नै जापानमा आम चुनाव सम्पन्न गरिसक्नुपर्छ।

त्यसैले सुगा कम्तीमा पनि आउँदो चुनावसम्म जापानको प्रधानमन्त्री पदमा रहनेछन्। यसअघि सुगाले जापानी मन्त्रिपरिषद्को प्रमुख सचिवको रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।

७१ वर्षीय यी नेतालाई कोरोना भाइरसको कारण अर्थतन्त्रमा देखिएको असर कम गर्ने चुनौती रहनेछ। विश्वको सबैभन्दा धेरै प्रतिशत वृद्ध मानिसको जनसंख्या रहेको मुलुकको अर्थतन्त्र सन् २०२० को दोस्रो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा २७ दशमलव ८ प्रतिशतले घटेको थियो।

त्यस्तै सुगाले जापानको राष्ट्रिय सुरक्षा नीतिमा पनि केही पुनरावलोकन गर्न सक्ने बताइएको छ।
 

प्रकाशित मिति: : 2020-09-16 12:30:07

प्रतिकृया दिनुहोस्